अभिलाष गुप्ता
वीरगंज, १७ पुष । साहेब बाबा धामका पीठाधिश्वर आदरणीय गुरुको शुभ जन्मोत्सवको पावन अवसरमा आज वीरगंजस्थित गहवामाई मन्दिर प्रांगणमा विशेष प्रसाद वितरण कार्यक्रम सम्पन्न भएको छ। धार्मिक आस्था, श्रद्धा र सामाजिक सद्भावको सन्देशसहित आयोजित कार्यक्रममा भक्तजनहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
उक्त अवसरमा वीरगंज महानगरपालिकाका नगर प्रमुख तथा मेयर राजेशमान सिंह स्वयं उपस्थित भई आफ्ना गुरु साहेब बाबा धामका पीठाधिश्वर आदरणीय गुरुको दीर्घायु, उत्तम स्वास्थ्य र निरन्तर मार्गदर्शनको कामना गर्नुभयो । मेयर सिंहले गुरुको आशिर्वादले समाजमा सकारात्मक सोच, सेवा भाव र नैतिक मूल्यहरूको विकास हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमका क्रममा श्रद्धालु भक्तजनहरूलाई प्रसाद वितरण गरिएको थियो भने गुरुको जन्मोत्सवलाई आध्यात्मिक वातावरणमा भव्य रूपमा मनाइएको थियो । स्थानीय समाजसेवी, धार्मिक अगुवा, सर्वसाधारण तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको यस कार्यक्रममा आपसी सद्भाव, एकता र सामाजिक सहकार्यको सन्देश प्रवाह भएको आयोजकहरूले बताएका छन् ।
धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण र प्रवर्द्धनमा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै सहभागीहरूले आगामी दिनमा पनि यस्ता सामाजिक–धार्मिक गतिविधिहरू निरन्तर रूपमा आयोजना हुने अपेक्षा व्यक्त गरेका छन् ।






