अभिलाष गुप्ता
वीरगंज, २३ पुष । नेपाल राष्ट्रिय अभिभावक संघको २४ औँ स्थापना दिवस “देशभरका अभिभावक एक हौँ, गुणस्तरीय शिक्षा आम अभिभावकहरूको अपेक्षा” भन्ने मूल नाराका साथ वीरगंजमा सभ्य तथा भव्य रूपमा मनाइएको छ ।
वीरगंज–४, बिर्ता बजारस्थित धर्मशालाको सभाहलमा आयोजित कार्यक्रममा नेपाल राष्ट्रिय अभिभावक संघ पर्सा जिल्ला समिति तथा वीरगंज महानगर समितिको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम वीरगंज महानगर समितिका अध्यक्ष हृदयमोहन लाल दासको अध्यक्षतामा सम्पन्न भएको थियो भने पूर्व प्रधानाध्यापक शत्रुघ्न गिरी प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो ।

कार्यक्रममा शिक्षाविद् तथा समाजसेवी प्रकाश कुमार उपाध्याय, विश्वनाथ प्रसाद चौरसिया, दलित नेता अशोक राउत, नेपाल राष्ट्रिय अभिभावक संघ बारा जिल्ला अध्यक्ष शम्भु पण्डित, रामविनोद सिंह, श्रवण बहादुर रायमाझी, लालबाबु सिंह, राजेश्वर प्रसाद कानु, धनबहादुर श्रेष्ठलगायत विशिष्ट अतिथिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट अतिथि प्रकाश कुमार उपाध्यायले नेपाल राष्ट्रिय अभिभावक संघले विगत २४ वर्षदेखि शिक्षा क्षेत्रमा खेलेको भूमिकाको प्रशंसा गर्दै अभिभावकहरू आफ्ना सन्तानको शिक्षाप्रति गम्भीर भए परिवार, समाज र राष्ट्रको उज्यालो भविष्य सुनिश्चित हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रमुख अतिथि शत्रुघ्न गिरीले अभिभावकहरू एकजुट नहुँदा विद्यार्थीको शैक्षिक उपलब्धिमा प्रत्यक्ष असर पर्ने उल्लेख गर्दै आजको आवश्यकता अभिभावकबीचको एकता र सक्रिय सहभागिता रहेकोमा जोड दिनुभयो ।
कार्यक्रमको समापन गर्दै अध्यक्ष हृदयमोहन लाल दासले शिक्षा नै देशको आमूल परिवर्तनको आधार भएको उल्लेख गर्दै विद्यार्थीहरूको शैक्षिक स्तर उकास्न संघमार्फत सम्पूर्ण अभिभावकलाई गोलबन्द हुन आग्रह गर्नुभयो । साथै स्थापना दिवसको अवसरमा सबैलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रमको सहजीकरण संघका केन्द्रीय उपाध्यक्ष एवं मधेश प्रदेश संयोजक सुरेन्द्र प्रसाद कानुले गर्नुभएको थियो भने स्वागत मन्तव्य वीरगञ्ज महानगर समितिका सचिव श्रवण बहादुर रायमाझीले व्यक्त गर्नुभएको थियो ।





