वीरगंज, २९ पुष । समाजमा रहेको जातीय विभेद अन्त्य गर्दै आपसी सद्भाव, समानता र भाईचाराको सन्देश प्रवाह गर्ने उद्देश्यले हिन्दू सम्राट नेपाल, पर्साको आयोजनामा आज साँझ ४ बजे वीरगंजस्थित माईस्थान मन्दिरको प्राङ्गणमा चेतना मूलक कार्यक्रम आयोजना गरिने भएको छ।
“जात–पातलाई गरौँ विदाई, हिन्दू सनातनी—भाई भाई” भन्ने मूल नारासहित आयोजना हुने कार्यक्रममा सबै जात, वर्ग र समुदायका व्यक्तिहरू एकै ठाउँमा भेला भई सँगै बसेर दही–चिउरा खाने कार्यक्रम राखिएको छ। यस कार्यक्रम मार्फत जातीय छुवाछुत र भेदभाव जस्ता सामाजिक कुप्रथाको अन्त्य गर्दै समतामूलक समाज निर्माणको सन्देश दिन खोजिएको आयोजकले बताएका छन्।
हिन्दू सम्राट नेपाल पर्साका अनुसार धर्म, संस्कृति र परम्पराको नाममा हुने कुनै पनि प्रकारका विभेद स्वीकार्य नहुने स्पष्ट सन्देश समाजमा प्रवाह गर्नु नै कार्यक्रमको मुख्य उद्देश्य हो। कार्यक्रममा स्थानीय समाजसेवी, युवा, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।
यस किसिमका चेतना मूलक कार्यक्रमहरूले सामाजिक एकता मजबुत बनाउँदै जातीय विभेद रहित समाज निर्माणमा सकारात्मक योगदान पुग्ने विश्वास आयोजकले लिएका छन्।




