अभिलाष गुप्ता
वीरगंज, ०२ माघ । शुक्रबार जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ प्रसौनीमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। जनमत पार्टीको आयोजनामा तथा माट्रिका आई फाउण्डेशनको प्राविधिक सहयोगमा मधेश प्रदेश सभा सदस्य बृजेश्वर प्रसाद चौधरीको नेतृत्वमा श्री ने.प्रा.वि. प्रसौनीको प्रांगणमा उक्त शिविर आयोजना गरिएको हो।
शिविरमार्फत कुल १६९ जना स्थानीय नागरिकले आँखा परीक्षण तथा उपचार सेवा प्राप्त गरेका छन्। तीमध्ये ५३ जनालाई निःशुल्क आँखा ड्रप वितरण गरिएको थियो। शिविरका क्रममा ४८ जनामा मोतियाबिन्दुको समस्या पहिचान गरिएको छ।

माट्रिका आई फाउण्डेशनकी डा. रिमा चौधरीका अनुसार मोतियाबिन्दु भएका ४८ जना बिरामीहरूलाई यही हप्ता माघ ४ गते आइतबार वीरगञ्जस्थित माट्रिका आई फाउण्डेशन अस्पतालमा पूर्ण रूपमा निःशुल्क शल्यक्रिया तथा आवश्यक सम्पूर्ण उपचार सेवा प्रदान गरिनेछ।
शिविरमा माट्रिका आई फाउण्डेशनका शिविर को–अर्डिनेटर राजेश चौधरी, डा. रिमा चौधरी, टेक्निसियन मनोज पटेल, सहयोगी इन्द्रजीत घामी, सुशील चौरसिया, राजेश पटेल, सीमा देवी लगायतको सक्रिय सहभागिता रहेको थियो। साथै शिविर सफल बनाउन स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति र सहयोग रहेको जनाइएको छ।
आयोजक पक्षले ग्रामीण तथा आर्थिक रूपमा कमजोर समुदायका नागरिकहरूलाई लक्षित गरी यस्ता स्वास्थ्य शिविरहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।






