अभिलाष गुप्ता
वीरगंज, ०३ माघ । डी.ए.भी. आर.बी. केडिया स्कूलद्वारा सञ्चालित “श्री शंकरलाल केडिया स्मृति अन्तर–विद्यालय फुटबल प्रतियोगिता २०८२” अन्तर्गत आज प्रतियोगिताको पहिलो दिन दुई खेल सम्पन्न भएका छन् ।
आज शनिबार सम्पन्न पहिलो खेलमा साउथ जोन सेकेन्डरी स्कूलले गौतम सेकेन्डरी स्कूल लाई ३–१ गोल अन्तरले पराजित गरेको छ । प्रतिस्पर्धात्मक खेलमा साउथ जोन सेकेन्डरी स्कूलका ज्ञानराज चौधरी उत्कृष्ट प्रदर्शन गर्दै ‘म्यान अफ द म्याच’ घोषित भएका थिए ।
त्यसैगरी, आजै भएको दोस्रो खेलमा मेरीगोल्ड सेकेन्डरी स्कूलले बिकन सेकेन्डरी स्कूल लाई २–० गोल अन्तरले हराउँदै विजयी यात्रा सुरु गरेको छ । उक्त खेलमा मेरीगोल्ड सेकेन्डरी स्कूलका निखिल चौधरी उत्कृष्ट खेल प्रदर्शनका कारण ‘म्यान अफ द म्याच’ को उपाधि प्राप्त गर्न सफल भए ।
प्रतियोगिताका सम्बन्धमा जानकारी दिँदै डी.ए.भी. आर.बी. केडिया स्कूलका प्रिन्सिपल राकेश मिश्राले विद्यालय स्तरमा खेलकुदको विकास, अनुशासन र आपसी सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो। उहाँका अनुसार आगामी दिनहरूमा पनि रोचक तथा प्रतिस्पर्धात्मक खेलहरू हुनेछन् ।
उक्त प्रतियोगितामा वीरगंजका विभिन्न १४ वटा विद्यालयहरूको सहभागिता रहेको छ भने खेलप्रेमी दर्शकहरूको उल्लेखनीय उपस्थिति देखिएको छ ।








