अभिलाष गुप्ता
वीरगंज, ०८ माघ । वीरगंजस्थित बीपी उत्थान अगाडि रहेको रेल्वे जग्गामा जनकपुरबाट पुरानो रेल ल्याई रेल्वे संग्रहालय स्थापना गर्ने विषयमा आज स्थलगत निरीक्षण गरिएको छ । ऐतिहासिक रेल सम्पदाको संरक्षण तथा पर्यटकीय विकासको उद्देश्यसहित अघि बढाइएको उक्त योजनाबारे सरोकार वालाहरू बीच छलफल भएको हो ।
निरीक्षण कार्यक्रममा वीरगंज महानगरपालिकाका नगर प्रमुख मेयर राजेशमान सिंह, महानगर पालिकाका हरियाली संयोजक एवं सामुदायिक प्रहरी आदर्शनगरका अध्यक्ष प्रकाश खेतान, सरसफाइ अभियन्ता शिव गुप्ता लगायतको उल्लेखनीय सहभागिता रहेको थियो ।

स्थलगत निरीक्षणका क्रममा उक्त स्थानको अवस्था, पूर्वाधार सम्भावना तथा संग्रहालय स्थापनाका लागि आवश्यक प्रक्रिया बारे विस्तृत रूपमा छलफल गरिएको जनाइएको छ । सहभागीहरूले जनकपुरबाट ऐतिहासिक महत्व बोकेको रेल शीघ्रताका साथ ल्याई संग्रहालय निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।
मेयर सिंहले रेल्वे संग्रहालय स्थापना भएमा वीरगंजको ऐतिहासिक पहिचान थप सुदृढ हुने, पर्यटन प्रवर्द्धन हुने र नयाँ पुस्ताले रेल्वे इतिहासबारे जानकारी पाउने अवसर प्राप्त हुने बताउनुभयो। साथै, यो योजना महानगरको दीर्घकालीन सांस्कृतिक तथा पर्यटकीय विकास योजनासँग पनि मेल खाने उहाँको भनाइ थियो ।
निरीक्षण टोलीले आवश्यक समन्वय र प्रक्रिया पूरा गरी छिटोभन्दा छिटो रेल ल्याउने र संग्रहालय स्थापनाको कार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ । उक्त रेल्वे संग्रहालय वीरगञ्जको नयाँ आकर्षणका रूपमा विकास हुने अपेक्षा गरिएको छ ।







