अभिलाष गुप्ता
वीरगंज, १७ माघ । नेशनल प्राइभेट एण्ड बोर्डिङ स्कुल्स एसोसिएसन नेपाल (National PABSAN) बहुदरमाई नगर कमिटीको आयोजनामा “Let All the National Private & Boarding School Be Unite” भन्ने मूल नारासहित नकआउट क्रिकेट प्रतियोगिताको भव्य उद्घाटन सम्पन्न भएको छ।
उद्घाटन कार्यक्रम नेशनल प्याब्सन पर्साका जिल्ला अध्यक्ष राम श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रम नेशनल प्याब्सन बहुदरमाई नगर कमिटीका नगर अध्यक्ष रबि कुमार साह तेलीको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा नेशनल प्याब्सन वीरगंजका नगर अध्यक्ष सोनालाल पटेल, प्रमोद रायमाझी तथा बहुदरमाई नगरपालिका वडा नम्बर–२ का वडा अध्यक्ष जितेन्द्र पटेल लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

नकआउट प्रणालीमा सञ्चालन भइरहेको उक्त क्रिकेट प्रतियोगितामा ५ वटा विद्यालय सहभागी रहेका छन्। प्रतियोगिता बहुदरमाई स्टेडियम, पिपरामा आयोजना भइरहेको छ। बहुदरमाई नगरपालिका तथा आसपासका क्षेत्रका राष्ट्रिय निजी तथा आवासीय विद्यालयहरूको सहभागिता रहेको यस प्रतियोगिताले विद्यालयस्तरको क्रिकेट प्रतिभा पहिचान गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।
शैक्षिक संस्थाबीच आपसी एकता, सहकार्य तथा खेलकुदमार्फत विद्यार्थी र शिक्षकहरूमा खेल भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाइएको छ। प्रतियोगिता सञ्चालनमा बहुदरमाई युवा क्लबको सहयोग रहेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेशनल प्याब्सन पर्साका जिल्ला अध्यक्ष राम श्रेष्ठले खेलकुदले विद्यार्थीहरूको शारीरिक, मानसिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै यस्ता प्रतियोगितालाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो। आयोजकका अनुसार उक्त नकआउट क्रिकेट प्रतियोगिताको भोलि समापन हुने छ।









