वीरगंज, १८ माघ । वीरगंज महानगरपालिका वडा नं. ५ का वडाबासीहरूका लागि स्वास्थ्य सेवामा ठूलो राहत प्रदान हुने गरी खुसीको खबर आएको छ। वडाबासीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै वीरगंज महानगरपालिका वडा नं. ५ को वडा कार्यालय र नेशनल मेडिकल कलेज प्रा. लि. वीरगंज, पर्सा बीच स्वास्थ्य उपचारमा विशेष सहुलियत प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ।
सम्झौतापछि अब वडा नं. ५ का वडाबासीहरूले नेशनल मेडिकल कलेजमा उपचार गराउँदा विभिन्न सेवामा आकर्षक छुट पाउने भएका छन्। सम्झौताअनुसार ओपीडी टिकटमा २५ प्रतिशत, सामान्य बेड चार्जमा १५ प्रतिशत छुट प्रदान गरिनेछ। त्यसैगरी औषधिमा IPD सेवामा १५ प्रतिशत र OPD सेवामा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ।
यस्तै, प्याथोलोजी सेवामा १० प्रतिशत र शल्यक्रियामा ८ प्रतिशत छुट उपलब्ध गराइनेछ भने एक्स–रे, सिटी स्क्यान तथा एमआरआई सेवामा ७ प्रतिशत छुट प्रदान गरिनेछ।
यी सहुलियत सुविधा लिनका लागि उपचारमा जानुअघि वडा कार्यालयबाट सिफारिस पत्र लिनु अनिवार्य गरिएको छ। सिफारिस पत्रका आधारमा मात्र अस्पतालले छुट सुविधा लागू गर्ने जनाएको छ।
सम्झौतामा नेशनल मेडिकल कलेज प्रा. लि., पर्सा का तर्फबाट अस्पताल निर्देशक डा. इशरत जहान अन्सारी तथा वीरगञ्ज महानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष प्रदिप कुमार चौरसिया सहभागी रहनुभएको थियो।
यस सम्झौताले वडा नं. ५ का वडाबासीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा सुलभ र किफायती रूपमा प्राप्त हुने विश्वास लिइएको छ। स्थानीयवासीहरूले यो पहललाई जनमैत्री र सराहनीय कदमका रूपमा लिएका छन्।







