अभिलाष गुप्ता
वीरगंज, २० माघ । Cosmos Educational Training and Research Centre, काठमाडौंको आयोजनामा सम्पन्न “Province Level Colouring and Drawing Competition–2082” मधेश प्रदेशमा पहिलो पटक सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगिताको अन्तिम चरण रौतहट जिल्लाको चापुरमा आयोजना गरिएको थियो।
अन्तिम चरणको कार्यक्रममा मधेश प्रदेशसभा सदस्य तथा पूर्व उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रमका समन्वयक प्रबिन ढुंगाना रहनु भएको थियो भने शिक्षाविद् तथा कला विज्ञ विष्णु सापकोटा निर्णायकको भूमिकामा रहनु भएको थियो।
आयोजकका अनुसार प्रतियोगिताको पहिलो चरणमा मधेश प्रदेशका ८ जिल्लाका विभिन्न विद्यालयबाट करिब ४०,००० विद्यार्थीहरूले सहभागिता जनाएका थिए। विद्यालय–विद्यालयमै सञ्चालन गरिएको पहिलो चरणबाट ४,२३५ विद्यार्थी क्वार्टर फाइनलका लागि छनोट भएका थिए। त्यसमध्ये ७५० विद्यार्थी सेमिफाइनलमा प्रवेश गरेका थिए भने अन्ततः १०५ विद्यार्थी मात्र फाइनल चरणका लागि छनोट भएका थिए।
फाइनल चरणमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो। साथै उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालयहरू लाई ट्रफी प्रदान गरी सम्मान गरिएको आयोजकले जनाएको छ।नगद पुरस्कारतर्फ प्रथम स्थान : रु. २०,०००,द्वितीय स्थान : रु. १५,०००,तृतीय स्थान : रु. १०,०००,चौथो स्थान (सान्त्वना) : रु. ५,०००
यस प्रतियोगितामा बारा र पर्सा जिल्लाका ९७ वटा विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए।
मधेश प्रदेशस्तरीय यस प्रतिष्ठित प्रतियोगितामा बिरगंजका विद्यार्थीहरूले पनि उल्लेखनीय सफलता हात पारेका छन्। विभिन्न कक्षातर्फबाट विजयी हुने विद्यार्थीहरू यसप्रकार छन् |कक्षा LKG -चौथो स्थान : श्रृष्टि सर्राफ,डल्फिन एकेडेमी ;कक्षा UKG -द्वितीय स्थान : आरिज जिन्नत,नेपाल कावेरी एकेडेमी ;कक्षा १ -तृतीय स्थान : आयुष कुमार यादव, सेन्ट जोन स्कुल ; कक्षा २ -प्रथम स्थान : प्रियाल तिवारी – गौतम स्कुल;
कक्षा ३ -चौथो स्थान : विद्या पटेल – साउथजोन स्कुल ;कक्षा ४- द्वितीय स्थान : अनिशा अख्तर – गुरुकुल एकेडेमी ;कक्षा ५ -प्रथम स्थान : नन्दनी कुमारी मलाह – गौतम स्कुल रहेका थिए।
आयोजक समितिले यो प्रतियोगिता मधेश प्रदेशमा पहिलो पटक आयोजना गरिएको जानकारी दिँदै यसअघि अन्य प्रदेशहरूमा हस्तलेखन तथा कला प्रतियोगिताहरू सफलतापूर्वक सम्पन्न गरिसकेको जनाएको छ। यस्ता शैक्षिक तथा सिर्जनात्मक गतिविधिले विद्यार्थीहरूमा लुकेको प्रतिभा पहिचान तथा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले व्यक्त गरेको छ।
वीररगंजका विद्यार्थीहरूको यस सफलताले अभिभावक, शिक्षक तथा विद्यालय परिवारमा थप उत्साह र गर्वको भावना जगाएको छ।





