वीरगंज, २२ माघ । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा नेकपा एमालेको पालिकास्तरीय कार्यकर्ता भेटघाट तथा भेला कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । आगामी प्रतिनिधिसभा निर्वाचन लाई लक्षित गर्दै आयोजना गरिएको उक्त भेलाले पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ मा एमालेको संगठनात्मक मजबुती र चुनावी तयारीलाई थप धार दिएको छ।
नेकपा एमाले सखुवा प्रसौनी गाउँपालिका कमिटी अध्यक्ष शिवनरायण महतोको अध्यक्षता तथा पार्टीका केन्द्रीय कमिटी सदस्य एवम् पर्सा जिल्ला इन्चार्ज प्रभु हजराको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा केन्द्रीय कमिटी सदस्य निर्मला देवकोटा, सखुवा प्रसौनी गाउँपालिका प्रमुख तथा युवा नेता जसवंत यादव, एमाले नेतृ फुलमती चौधरी, बाशुदेव थारूलगायत स्थानीय नेता–कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रभु हजराले देशमा राजनीतिक स्थायित्व, सुशासन र समृद्धिका लागि नेकपा एमालेको नेतृत्व अपरिहार्य रहेको बताउनुभयो। उहाँले पर्सा–३ मा परिवर्तनको भरोसायोग्य आधारका रूपमा उभिएका युवा उम्मेदवार रूपेश कुमार पाण्डे पार्टीको मात्रै नभई आम जनताको आशा र विश्वासको प्रतिनिधि भएको उल्लेख गर्नुभयो।
भेलालाई सम्बोधन गर्दै पर्सा–३ का परिवर्तनका संवाहक तथा भरोसायोग्य युवा उम्मेदवार रूपेश कुमार पाण्डेले क्षेत्रका विद्यमान समस्या, जनताको पीडा र विकासका अवरोधहरूलाई स्पष्ट रूपमा औंल्याउँदै समाधानमुखी र व्यवहारिक भिजन प्रस्तुत गर्नुभयो। शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पूर्वाधार र सुशासनलाई प्राथमिकतामा राख्दै उहाँले “अब पर्सा–३ लाई भाषण होइन, परिणाम चाहिएको छ” भन्ने दृढ सन्देश दिनुभयो।
कार्यक्रमका क्रममा स्थानीय नेता–कार्यकर्ता तथा ‘भगवानरूपी’ आम जनताले युवा उम्मेदवार रूपेश कुमार पाण्डेप्रति खुलेर समर्थन जनाउँदै आगामी निर्वाचनमा विजयको शुभकामना व्यक्त गरेका थिए। भेलाले पर्सा–३ मा रूपेश पाण्डेको उम्मेदवारी देखाएर मात्रै होइन, काम गरेर प्रमाणित हुने विश्वास थप बलियो बन्दै गएको सन्देश दिएको छ।
साथै, आउँदो शनिबार बनसपति गाद्दीमाई मन्दिर परिसरमा आयोजना हुने कार्यकर्ता भेटघाट कार्यक्रमलाई भव्य र ऐतिहासिक रूपमा सफल बनाउन सम्पूर्ण पार्टीपंक्तिलाई एकताबद्ध भएर जुट्न आह्वान गरिएको छ। सखुवा प्रसौनीको यो भेला पर्सा–३ मा एमालेको चुनावी अभियान थप आक्रामक र जनमुखी बन्दै गएको स्पष्ट संकेतका रूपमा हेरिएको छ ।







