वीरगंज, २४ माघ । नेपाली कांग्रेस जिल्ला कार्य समिति पर्साले आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै महत्वपूर्ण रणनीतिक निर्णय गरेको छ। पार्टीले अन्तर्राष्ट्रिय ख्याति प्राप्त ज्योतिषविद् तथा समाजसेवी डा. पुरुषोत्तम दुबेलाई धार्मिक संघ–संस्था समन्वय समितिको जिल्ला संयोजकमा मनोनित गरेको छ।
बौद्धिक क्षमता, आध्यात्मिक साधना र सामाजिक सेवामा लामो योगदान दिएका डा. दुबे जिल्लाभरि मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा समेत सम्मानित व्यक्तित्वका रूपमा परिचित छन्। उहाँको बहु आयामिक व्यक्तित्वलाई चुनावी अभियानमा प्रयोग गर्नु पर्सा कांग्रेसको ‘मास्टरस्ट्रोक’का रूपमा हेरिएको छ।
आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई विजयी गराउन डा. दुबेको नेतृत्वमा जिल्लाका विभिन्न धार्मिक तथा सामाजिक संघ–संस्थाहरूलाई एकीकृत गरिने पार्टीको योजना छ। पार्टी सचिव दिनेश कुमार चौधरीद्वारा हस्ताक्षरित मनोनयन पत्रमा डा. दुबेको अनुभव, निष्ठा र नेतृत्व क्षमताले पार्टीलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरिएको छ।
पार्टीले डा. दुबेलाई दुई दिनभित्रै समिति विस्तार गरी सक्रिय रूपमा परिचालन हुन निर्देशन दिएको छ। धार्मिक समन्वय, व्यापक जनसम्पर्क र सामाजिक विश्वासका कारण उहाँको भूमिकाले चुनावी माहोल कांग्रेसको पक्षमा मोड्ने अपेक्षा गरिएको छ।
डा. दुबेको मनोनयनपछि पर्साका कांग्रेस कार्यकर्ता तथा शुभचिन्तकहरूमा उत्साह छाएको छ। उहाँको नेतृत्वले कांग्रेसलाई राजनीतिक संगठनसँगै सामाजिक र धार्मिक आस्थाको विश्वासिलो केन्द्रका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरिएको छ।





