अभिलाष गुप्ता
वीरगंज, ०८ फागुन । पर्सा क्षेत्र नम्बर–१ अन्तर्गत सुखचैनामा आज आयोजित एक कार्यक्रमका बीच ठूलो समूह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेको छ। विभिन्न पेशा तथा व्यवसायमा आबद्ध व्यक्तिहरूले एकैसाथ पार्टीमा प्रवेश गर्दै क्षेत्रीय राजनीतिमा नयाँ उत्साह थपेका छन्।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपा पर्सा क्षेत्र नं. १ का उम्मेदवार तथा सभापति हरि पन्त ले सुखचैनाबाट भएको यस प्रवेशले क्षेत्र नं. १ मा रास्वपाको संगठनात्मक शक्ति थप मजबुत भएको बताएका छन्। उनले जनताको विश्वास र साथले आगामी निर्वाचनमा जित सुनिश्चित हुने दाबी गरे।
उनका अनुसार रास्वपाले सुशासन, पारदर्शिता र विकासलाई प्राथमिकतामा राखेर अघि बढिरहेको छ। “सुखचैनाका जनताले परिवर्तनको पक्षमा स्पष्ट सन्देश दिएका छन्,” उनले भने, “यो प्रवेश केवल संख्या वृद्धि मात्र होइन, विश्वासको अभिव्यक्ति हो।”
कार्यक्रममा पार्टीका स्थानीय नेताहरू, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। नवप्रवेशीहरूले देशमा स्वच्छ राजनीति र प्रभावकारी नेतृत्वको आवश्यकता महसुस गर्दै रास्वपा रोजेको बताएका छन्।
यस प्रवेशसँगै पर्सा क्षेत्र नं. १ मा रास्वपाको चुनावी अभियान थप सशक्त बनेको पार्टी स्रोतले जनाएको छ।







