वीरगंज, २७ फागुन । वीरगंजस्थित गहवामाई मन्दिर संचालक समितिका अध्यक्ष नरेन्द्र शाह लगायतका पदाधिकारीहरूले आगामी चैत्र १२ गते आयोजना हुने गहवामाई डोली यात्रामा सहभागी हुन वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह लाई औपचारिक निमन्त्रणा दिएका छन्।
मेयर सिंहको कार्यकक्षमा पुगेर समितिका पदाधिकारीहरूले भेटघाट गर्दै धार्मिक तथा सांस्कृतिक महत्व बोकेको उक्त डोली यात्रामा महानगर प्रमुखको उपस्थितिले कार्यक्रमको गरिमा अझ बढ्ने विश्वास व्यक्त गरेका थिए।
समितिका पदाधिकारीहरूले गहवामाई मन्दिरमा प्रत्येक वर्ष आयोजना हुने डोली यात्रा वीरगंजको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक परम्पराका रूपमा स्थापित रहेको उल्लेख गर्दै यस वर्षको कार्यक्रममा महानगर प्रमुखको सहभागिताले भक्तजन तथा स्थानीयवासीमा थप उत्साह थप्ने अपेक्षा व्यक्त गरेका छन्।
मेयर सिंहले निमन्त्रणाप्रति आभार व्यक्त गर्दै समय मिलाएर कार्यक्रममा सहभागी हुने बताएका छन्। साथै उनले धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण तथा प्रवर्द्धनमा महानगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन्।
प्रत्येक वर्ष चैत्र महिनामा आयोजना हुने गहवामाई डोली यात्रामा वीरगंज तथा आसपासका क्षेत्रबाट ठूलो संख्यामा भक्तजन सहभागी हुने गर्दछन्।





