वीरगंज, ४ जेठ । जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जेठ ८ गतेदेखि १० गते सम्म गर्ने निर्णय गरिएको छ । पर्सा जिल्ला खेलकूद विकास समितिका अध्यक्ष दीपक कुमार साह कानुको अध्यक्षतामा नारायणी रंगशाला कार्यालयमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका निमित्त बैठक बसी विभिन्न खेल प्रतियोगिताबारे निर्णय गरिएको हो ।
जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जेठ ८ गते देखि १० गते सम्म नेपाल प्रहरी प्रदेश कार्यालय परिसरमा हुने निर्णय बैठकले गरेको छ । साथै प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, खेलको अंक जोडी पालिका प्रथम, द्वितीय र तृतीय घोषणा गर्ने बताइएको छ ।
बैठकमा श्रीजंग गण पर्साका प्रमुख सेनानी लोकेन्द्र कार्की, प्रहरी नायब उपरीक्षक राजु कार्की, सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौला, शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख मोतीप्रसाद भट्टराई, जिल्ला खेलकुद विकास समिति, पर्साका कार्यालय प्रमुख नाजिर हुसेन अन्सारी लगायतको सहभागिता थियो ।







