अभिलाष गुप्ता
वीरगञ्ज ०५ जेठ। हाल विद्यालय शिक्षामा एकपछि अर्को नयाँ निर्देशनहरू लागू भइरहेका छन्। आइतवार विद्यालय बन्द गर्ने, बिहान ६ बजेदेखि ११ बजेसम्म मात्र कक्षा सञ्चालन गर्नुपर्ने, “Friday Book Free Education” लागू गर्ने तथा “Life Skill Education” अनिवार्य रूपमा समावेश गर्ने जस्ता निर्णयहरू कागजमा सकारात्मक देखिए पनि व्यवहारमा कार्यान्वयन गर्न निकै चुनौतीपूर्ण बन्दै गएको सरोकारवालाहरूले बताएका छन्।
विशेषगरी वीरगञ्ज महानगरपालिकाले गर्मीको कारण देखाउँदै विद्यालयहरू बिहान ६ बजेदेखि ११ बजेसम्म मात्र सञ्चालन गर्न जारी गरेको सूचनापछि अभिभावक, शिक्षक तथा विद्यालय व्यवस्थापन पक्ष थप चिन्तित बनेका छन्।
अभिभावकहरूका अनुसार अहिलेको व्यवस्थाले बालबालिकाको पढाइमा प्रत्यक्ष असर परेको छ। यसअघि नै दुई दिनको बिदाले पठनपाठन प्रभावित भइरहेको अवस्थामा दैनिक कक्षा समय पनि घटाइएपछि शैक्षिक गुणस्तर खस्किने डर बढेको उनीहरूको भनाइ छ।
वीरगञ्जमा धेरै सुविधा सम्पन्न निजी विद्यालयहरू सञ्चालनमा छन्, जहाँ पर्याप्त झ्याल, पंखा, विद्युतिय सुविधा तथा आधुनिक संरचना रहेका कारण अत्यधिक गर्मीको समस्या कम हुने विद्यालय सञ्चालकहरूको दाबी छ।
यस्ता विद्यालयहरूले करोडौं लगानी गरेर पूर्वाधार निर्माण गरेका छन्। तर सबै विद्यालयलाई एउटै मापदण्डमा राखेर समय निर्धारण गर्दा व्यवहारिक समस्या उत्पन्न भएको उनीहरू बताउँछन्।
अर्कोतर्फ केही विद्यालय अझै टिनको छाना र न्यून पूर्वाधारमै सञ्चालन भइरहेका छन्। त्यस्ता विद्यालयमा गर्मीका कारण विद्यार्थीलाई समस्या हुनु स्वाभाविक भए पनि सबै विद्यालयका लागि एउटै निर्णय लागू गर्नु उपयुक्त नहुने धारणा अभिभावकहरूको छ।
विशेषगरी प्ले ग्रुप, नर्सरी, एलकेजी तथा यूकेजीजस्ता साना कक्षाका बालबालिकाका लागि बिहान ६ बजे विद्यालय पुग्नु निकै कठिन देखिएको छ। यसका कारण अभिभावकहरूले साना बालबालिकालाई अत्यन्तै चाँडो उठाएर तयार पार्नुपर्ने बाध्यता आएको गुनासो गरेका छन्।
“यति साना बच्चालाई बिहान अँध्यारोमै उठाएर विद्यालय पठाउनु निकै कठिन छ। बच्चाहरू पर्याप्त निद्रा नपाएर थकित हुने गरेका छन्,” एक अभिभावकले बताए।
विद्यालय सञ्चालकहरूका अनुसार अहिले लागू भइरहेका नयाँ शैक्षिक कार्यक्रम, अतिरिक्त क्रियाकलाप, Life Skill Education, Friday Book Free Education लगायतका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न पर्याप्त समय आवश्यक पर्छ। तर शैक्षिक दिन र कक्षा समय दुवै घटाइँदा निर्धारित १७८ दिनभित्र पाठ्यक्रम, करिकुलम र सह–शैक्षिक गतिविधि पूरा गर्न चुनौती थपिएको उनीहरूको भनाइ छ।
एकातर्फ वीरगञ्जलाई शिक्षाको हब बनाउने लक्ष्य सार्वजनिक गरिँदै आएको छ भने अर्कोतर्फ शिक्षण समय र शैक्षिक दिन घट्दै जानुले त्यस लक्ष्यप्रति नै प्रश्न उठाएको शिक्षाविद्हरूको धारणा छ।
गुणस्तरीय शिक्षा केवल निर्देशन र नीतिले मात्र सम्भव नहुने, त्यसका लागि व्यवहारिक वातावरण, पर्याप्त समय तथा योजनाबद्ध कार्यान्वयन आवश्यक पर्ने उनीहरूले बताएका छन्।
यद्यपि आइतवार बिदाले डिजेल तथा2 बिजुलीको केही बचत हुन सक्ने तर्क पनि गरिएको छ। त्यसले शिक्षण सिकाइ प्रक्रियामा पार्ने दीर्घकालीन प्रभावबारे गम्भीर समीक्षा हुनुपर्ने सरोकारवालाहरू?को माग छ।
शिक्षक, अभिभावक तथा विद्यालय व्यवस्थापन पक्षले यस विषयमा सम्बन्धित शैक्षिक प्रशासन महाशाखा, स्थानीय तहका प्रमुख तथा अन्य सरोकारवाला निकायहरूले खुला छलफल गरी व्यवहारिक तथा दीर्घकालीन समाधान निकाल्नुपर्ने आवश्यकता औंल्याएका छन्।
शिक्षा जस्तो संवेदनशील विषयमा निर्णय गर्दा विद्यार्थी, शिक्षक, अभिभावक तथा विद्यालयहरूको वास्तविक अवस्था बुझेर मात्र नीति निर्माण गर्नुपर्नेमा जोड दिँदै सरोकारवालाहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।







