अभिलाष गुप्ता
वीरगंज, ६ जेष्ठ । “गरौं योग, रहौं निरोग” भन्ने मूल नारासहित आयोजित ५ दिने योग विज्ञान शिविर वीरगञ्जको घण्टाघरस्थित बिपी उत्थान पार्कमा भव्य रूपमा सम्पन्न भएको छ। शिविरको सह-आयोजक वीरगंज महानगरपालिका रहेको थियो भने आयोजक पतञ्जलि योग समिति पर्सा तथा प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रहेका थिए।
समापन कार्यक्रममा काठमाडौंबाट आउनुभएका योग गुरु लभदेव गुरुको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल उद्योग वाणिज्य महासंघ का निवर्तमान अध्यक्ष एवं केन्द्रीय कार्यसमिति सदस्य अशोक टेमानी सहभागी भएका थिए। साथै पूर्व मेयर विजय सरावगी, संस्थाका नसीब लाल लगायत पदाधिकारी, योग साधक तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अशोक टेमानीले योग केवल व्यायाम वा शारीरिक अभ्यास मात्र नभई जीवन जिउने पद्धति भएको बताए। उनले योगले मानिसको शरीरको बाहिरी मात्र होइन, भित्री पक्ष तथा सोचलाई समेत शुद्ध र सकारात्मक बनाउने धारणा व्यक्त गरे।
उनले हरिद्वारको योग ग्रामको उदाहरण दिँदै वीरगञ्जमा पनि त्यस्तै योग ग्राम स्थापना गर्नुपर्ने आवश्यकता औंल्याए। “वीरगञ्जवासीले चाहेमा यहाँ पनि योग ग्राम स्थापना गर्न सकिन्छ, र त्यसका लागि मबाट हुने सम्पूर्ण सहयोग गर्न तयार छु,” उनले भने। उनले कम्तीमा १० बिघा क्षेत्रफलमा योग ग्राम निर्माण गर्नुपर्नेमा जोड दिएका थिए।
टेमानीका अनुसार प्रस्तावित योग ग्राममा योगासन मात्र नभई योग उपचार पद्धति, योग विश्वविद्यालय, उपचारसम्बन्धी अध्ययन केन्द्र लगायत योगसँग सम्बन्धित सम्पूर्ण गतिविधिहरू समावेश गरिने अवधारणा रहेको छ। सामूहिक प्रयास भए वीरगञ्जमा यस्तो परियोजना सफल हुने विश्वास उनले व्यक्त गरे।
शिविरको समापनसँगै आयोजकहरूले पाँच दिनसम्म वीरगंज योगमय बनेको प्रतिक्रिया दिएका छन्। सहभागीहरूले योगले शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने अनुभव सुनाउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।
आज समापन कार्यक्रममा काठमाडौंबाट आउनुभएका योग गुरु लभदेव द्वारा विशेष होम मन्त्र उचारण बाट गराइएको थियोे एवं विभिन्न योगासनहरु गराइएको थियोे।







