अभिलाष गुप्ता
वीरगंज, १३ जेष्ठ । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको समन्वयमा वीरगञ्जमा बिहीबार एकदिने कृत्रिम घटनामा आधारित “RCEC Red Cross Emergency Clinic” कार्यक्रम सञ्चालन हुने भएको छ। कार्यक्रमको तयारी तथा व्यवस्थापनबारे बुधबार आयोजित छलफल सम्पन्न भएको हो।
हालै फैलिएको कोलोरा महामारीका कारण ठूलो जनजीवन प्रभावित भएको अवस्थालाई मध्यनजर गर्दै महामारीको समयमा अपनाउनुपर्ने सतर्कता, प्राथमिक उपचार, सरसफाइ तथा आपतकालीन व्यवस्थापनबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
कार्यक्रमअन्तर्गत कृत्रिम घटनाको अभ्यासमार्फत महामारी फैलिएको अवस्थामा रेडक्रसकर्मी, स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरूले कसरी उद्धार, उपचार, समन्वय र जनचेतनामूलक गतिविधि सञ्चालन गर्ने भन्ने विषयमा व्यावहारिक प्रदर्शन गरिने बताइएको छ।
छलफल कार्यक्रममा टिकाराज पौडेलको विशेष उपस्थिति रहेको थियो। उनले महामारी नियन्त्रणका लागि समुदायस्तरमै सचेतना र तयारी आवश्यक रहेको उल्लेख गर्दै रेडक्रसको भूमिका अझ प्रभावकारी बनाउन यस्ता अभ्यासमूलक कार्यक्रम उपयोगी हुने बताए।
कार्यक्रममा रेडक्रसकर्मी, स्वयंसेवक, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको सहभागिता रहने जनाइएको छ। आयोजकका अनुसार कार्यक्रमले महामारीका बेला अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका उपायबारे समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।







