जनकपुरधाम, १५ जेष्ठ । गणतन्त्र दिवसको अवसरमा नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिको प्रादेशिक भवन निर्माण कार्यको शुक्रबार शिलान्यास गरिएको छ। जनकपुरधाम उपमहानगरपालिका–४ स्थित भवनको शिलान्यास मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले गरेका हुन्।
शिलान्यास कार्यक्रममा मन्त्री महतोले पत्रकार महासंघको प्रादेशिक कार्यालयलाई सुविधा सम्पन्न भवनका रूपमा निर्माण गरिने प्रतिबद्धता व्यक्त गरे। उनले महासंघ, अर्थ मन्त्रालय तथा गृह, सञ्चार तथा कानुन मन्त्रालयबीच समन्वय गरी आगामी बजेटमार्फत आवश्यक रकम व्यवस्थापन गरिने बताए।
नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बन्जाराले अग्रज पत्रकारहरूले देखेको सपना पूरा गर्ने अभियान सुरु भएको उल्लेख गर्दै नेपालमै पहिलोपटक मधेश प्रदेश समितिको आफ्नै भवन निर्माणको ऐतिहासिक काम अघि बढेको बताए।
उनले महासंघको निर्वाचनका बेला गरिएको प्रतिबद्धता अनुसार भवन निर्माण प्रक्रिया अघि बढाइएको जनाउँदै छिट्टै आधुनिक तथा सुविधा सम्पन्न भवन निर्माण सम्पन्न हुने विश्वास व्यक्त गरे।
“अग्रजहरूले देखेको सपना पूरा गर्ने काम सुरु भएको छ। महासंघको चुनावका बेला गरिएको प्रतिबद्धता अनुसार प्रदेशको भवन निर्माण कार्य अघि बढाइएको हो,” अध्यक्ष बन्जाराले भने।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने, स्वतन्त्र सेनानी रामभरत, केन्द्रीय सदस्य तथा मधेश प्रदेश इन्चार्ज राजेश कर्ण, आम सञ्चार प्राधिकरणका जितेन्द्र सिंह खड्का, मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष बन्दना झालगायतको उपस्थिति रहेको थियो।
महासंघका महासचिव शैलेन्द्र महतोले कार्यक्रमको सहजीकरण गरेका थिए। प्रारम्भिक चरणमा दुई कोठे भवन निर्माण कार्य सुरु गरिएको अध्यक्ष बन्जाराले जानकारी दिएका छन्।







