अभिलाष गुप्ता
वीरगंज, २६ जेष्ठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको नयाँ जिल्ला नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा सांसद हरि पन्त नेतृत्वको संस्थापन पक्षले एकलौटी विजय हासिल गरेको छ। निर्वाचनमा पन्त समूहका उम्मेदवारहरूले सबै प्रमुख पदमा जित दर्ता गर्दै ‘क्लिन स्वीप’ गरेका हुन्।
निर्वाचन समितिका संयोजक नन्दन यादव का अनुसार जिल्ला सभापति पदमा हरि पन्त १६६ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी सुशीलकुमार कानु ले ११८ मत प्राप्त गरेका थिए। पन्तले ४८ मतको अन्तरले विजय हासिल गरेका हुन्।
उपसभापति पदमा पनि पन्त समूहकै दिलीपकुमार कुर्मी विजयी भएका छन्। उनले १६२ मत प्राप्त गर्दा प्रतिस्पर्धी रंदीप श्रीवास्तव ११४ मतमा सीमित भए।
त्यसैगरी सचिव पदमा सुदिशकुमार प्रजापति १६० मतसहित निर्वाचित भए। उनका प्रतिद्वन्द्वी शिवकुमार साह ले ११६ मत प्राप्त गरेका थिए।
सहसचिव पदमा कृष्णा पासवान विजयी भएका छन्। पासवानले १४९ मत प्राप्त गर्दा प्रतिस्पर्धी निरज कुमार साह ले ११३ मत ल्याएका थिए।
सदस्य पदतर्फ तुलसा पौडेल अधिकारी १६० मतसहित सर्वाधिक मत प्राप्त गर्ने उम्मेदवार बनेकी छन्। सदस्यमा प्रियंका कुमारी कुर्मी, पूर्णबहादुर सापकोटा, कामोध्या चौधरी तथा शशीदेवी थरुनी पनि निर्वाचित भएका छन्।
निर्वाचनको अन्तिम परिणामसँगै रास्वपा पर्साको नयाँ जिल्ला नेतृत्वमा संस्थापन पक्षको पूर्ण वर्चस्व स्थापित भएको छ। सबै प्रमुख पदमा एउटै प्यानलका उम्मेदवार विजयी भएपछि हरि पन्त समूहले संगठनभित्र आफ्नो प्रभाव थप सुदृढ बनाएको राजनीतिक वृत्तमा विश्लेषण गरिएको छ।
नयाँ नेतृत्व चयनसँगै अब रास्वपा पर्साले संगठन विस्तार, कार्यकर्ता व्यवस्थापन तथा आगामी राजनीतिक कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।







