अभिलाष गुप्ता
वीरगंज, २५ अषाढ । वीरगंजस्थित वीरगंज पब्लिक कलेजमा शिक्षकहरूको व्यावसायिक क्षमता, नेतृत्व विकास तथा गुणस्तरीय शिक्षण–सिकाइलाई अझ प्रभावकारी बनाउने उद्देश्यले चारदिने शिक्षक क्षमता अभिवृद्धि तालिम सुरु भएको छ।
कलेजका सम्पूर्ण शिक्षकहरूको सहभागिता रहेको उक्त तालिम कलेजका संस्थापक डा. दीपक शाक्य, डा. अर्बिन्द श्रेष्ठ लगायत विशिष्ट व्यक्तित्वहरूको विशेष उपस्थितिमा उद्घाटन गरिएको हो। कलेजका अनुसार तालिम लगातार चार दिनसम्म सञ्चालन हुनेछ।
तालिममा दिगो विकास, सामाजिक प्रभाव, दिगो सामाजिक परिवर्तनका लागि परियोजना निर्माण, सिकाइ, सकारात्मक कार्य, आत्ममूल्याङ्कन, आत्म–नेतृत्व, सहकार्यात्मक नेतृत्व, प्रभावकारी सञ्चार, रचनात्मक सुझाव तथा प्रतिक्रिया आदान–प्रदान, समूहमा मिलेर काम गर्ने सीप, सकारात्मक सोच र दृष्टिकोण, परिवर्तन व्यवस्थापन, नैतिक मूल्य र व्यवहार, स्पष्ट उद्देश्य, समन्वय र प्रतिबद्धता तथा व्यक्तिगत रूपान्तरण लगायतका विषयमा प्रशिक्षण प्रदान गरिनेछ।
त्यसैगरी तालिममा सभ्य रोजगारी तथा आर्थिक समृद्धि, उद्योग, नवप्रवर्तन तथा पूर्वाधार विकास, जलवायु संरक्षण, जलमुनिको जीवन संरक्षण, स्थलमाथिको जैविक विविधता संरक्षण, जिम्मेवार उत्पादन तथा उपभोग, शान्ति, न्याय र सबल संस्थाको निर्माण तथा लक्ष्य प्राप्तिका लागि साझेदारी जस्ता दिगो विकासका महत्वपूर्ण विषयहरूबारे पनि विस्तृत रूपमा छलफल तथा अभ्यास गराइनेछ।
कलेज प्रशासनका अनुसार यस तालिमको मुख्य उद्देश्य शिक्षकहरूको नेतृत्व क्षमता, व्यावसायिक दक्षता, सिर्जनशीलता, सहकार्य गर्ने क्षमता तथा विद्यार्थीकेन्द्रित शिक्षण पद्धतिलाई अझ सुदृढ बनाउनुका साथै समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्ने जिम्मेवार शिक्षक तयार गर्नु हो।
तालिम सम्पन्न भएपछि सहभागी शिक्षकहरूले प्राप्त ज्ञान, सीप र अनुभवलाई व्यवहारमा उतार्दै शिक्षण–सिकाइ प्रक्रियालाई अझ प्रभावकारी, आधुनिक, अनुसन्धानमुखी तथा परिणाममुखी बनाउने विश्वास कलेजले व्यक्त गरेको छ।


