वीरगंज २२ भदौं । प्रदेशमा बिमा संस्कृति कमजोर भएको र भारतीय बिमा कम्पनीहरुको दबदबा रहेकाले यसतर्फ नेपाली बिमा कम्पनीहरु सचेत हुनु पर्ने सरोकारवालाहरुले बताएका छन् ।
नेपाल बिमा प्राधिकरण मधेश प्रादेशिक कार्यालय वीरगंजले शुक्रबार वीरगंजमा आयोजना गरेको आर्थिक पत्रकारसँग नेपाल बिमा प्राधिकरण विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रममा सरोकारवालाहरुले यस्तो सुझाव दिएका हुन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले वीरगंज बाट मासिक १ करोड रुपैयाँ भन्दा बढी प्रिमियम एउटै भारतीय बिमा कम्पनीले लगिरहेको दाबी गरे । यस्तो अवस्थामा एकातिर नेपाली बिमा कम्पनीहरु आक्रमक रुपमा बजारमा सक्रिय हुनु पर्छ,’उनले भने,अर्कोतिर बिमाको माध्यमबाट भारततर्फ भई रहेको पुँजी पलायन पनि रोक्नु पर्छ ।’
उनले मधेशको ठूलो जनसंख्याले अझै पनि बिमाको महत्व नबुझेको अवस्था रहेको बताए । गाउँघरका किसान अझै पनि बिमाबारे अनभिज्ञ नै छन्,’उनले भने,कृषि,पशु र बाली बिमाजस्ता किसानको हितकारी बिमाबारे पनि उनीहरुले अझै सुनेकै छैन्न ।’
पत्रकार महेशचन्द्र गौतमले पछिल्लो समय जीवन भन्दा निर्जीवन बिमाले धेरै सेवाग्राही लाभान्वित हुने अवस्था रहे पनि यो बिमाबारे शिक्षित वर्गसमेत अनभिज्ञ रहेको बताए । उनले निर्जिवन बिमालाई पनि जिवन बिमा सरह जनमानसमा प्रभावकारी रुपमा बिस्तार गर्न सुझाए ।
आर्थिक पत्रकार समाज पर्साका प्रतिनिधि पत्रकार निरज पिठाकोटेले जीवन बिमालाई मृत्यु र जीवनसँग मात्र जोडेर हेर्ने परिपाटीको अन्त्य हुन जरुरी रहेको बताए ।
बिमा प्राधिकरण मधेश प्रदेश कार्यालकी प्रमुख कुसुम शर्माले अन्य प्रदेशको तुलनामा मधेश प्रदेशमा बिमा साक्षरताको अवस्था कमजोर रहेको बताइन् ।
कार्यक्रममा प्राधिकरण प्रादेशिक कार्यालयका सहायक निर्देशक अनिश तिमल्सेनाले हाल मधेश प्रदेशमा जीवन बिमाका १ सय २३ शाखा,७१ उपशाखा रहेको र तीनमा ४ सय ६८ कर्मचारीले रोजगारी पाएको बताए । त्यसैगरी,प्रदेशमा निर्जीवन बिमाका ९४ शाखा,२३ उपशाखा र तीनमा ४ सय ३ जनाले रोजगारी पाएको बताए । मधेश प्रदेश भरीमा आव २०७९ र ०८० मा २ लाख १५ हजार २ सय २६ निर्जीवन बिमा लेख जारी हुँदा २ अर्ब ४७ करोड १० लाख ७९ हजार रुपैयाँ बिमा शुल्क संकलन भएको बताए । सोही आवमा ५ लाख ७४ हजार ४ सय १२ वटा जिवन बिमा लेख जारी हुँदा १३ अर्ब १५ करोड ९६ लाख ९८ हजार रुपैयाँ बिमा शुल्क संकलन भएको उनले बताए ।
मधेश प्रदेश सरकारले यस वर्षको बजेटमा सरल र सहज रुपमा उन्नत जातको कृषि तथा पशुपन्छी बिमामा २० करोड बजेट विनियोजन,निजामती कर्मचारीका लागि १० लाख रुपैयाँको दुर्घटना बिमा र प्रत्येक नागरिकका लागि २ लाख रुपैयाँ बराबरको विपद् जोखिम बिमाको व्यवस्था गर्नु स्वागतयोग्य रहेको उनले बताए ।