वीरगंज । वीरगंज महानगरपालिकाका पूर्व प्रमुख बिजय कुमार सरावगीले आम नागरिकको सूचनाको भोक मेटने प्रभावकारी माध्यम रुपमा रेडियो नै रहेको बताएका छन ।
बुधबार साँझ होटल मकालुमा आयोजना गरिएको सामुदायिक रेडियो नारायणी एफ. एम.१०३.८ मेगाहर्जको आजीवन सदस्यता वितरण कार्यक्रममा उनले यस्तो बताएका हुन ।
उनले रेडियो एफ.एमहरु मध्य सामुदायिक रेडियोहरुले समाज रुपान्तारणका लागि खेलेको भूमिका अझ अनुकरणीय रहेको बताए । सरावगीले सामुदायिक रेडियो अन्य व्यावसायिक रेडियो भन्दा फरक रहेको र यसले खेलेको प्रभावकारी भूमिकाले नै समाजमा पनिवर्तनहरु देखिएको बताए ।
उनले सञ्चार माध्यमहरु धेरै भएपनि जनताको न्याय र सुशासनको पाटोमा भने थोरैले मात्रै भूमिका खेल्ने गरेको उल्लेखगर्दै अहिले संघीयतापछि भए गरेका भ्रष्टाचार र अनियमितताको विरुद्ध सामुदायिक रेडियोले नै बोल्न सक्ने र बोल्नुपर्ने बताए ।
जीतपुर सिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले संघीय संरचनापछि पनि आम मानसिकता र मिडियाहरुको मानसिकता यथास्थितिवादी नै रहेकोले त्यसको परिवर्तनका लागि सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण रहेको बताए ।
उहाँले संघीयतामा तीनै तहका सरकारहरुको अधिकार क्षेत्र, काम, कर्तव्य र अधिकारको विषयमा अझै नागरिकमा पुग्न नसकेकोले संघीयताको अभ्यासलाई जन जनमा पुग्ने गरी कार्यक्रमहरु आउनुपर्ने बताए ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी. लामिछानेले सञ्चार मध्यमहरु मध्य अहिलेपनि रेडियो नै प्रभावकारी सूचनाको माध्यम भएको बताए। उनले अझै धेरै नागरिकको विश्वासिलो सूचनाको माध्यम भनेको रेडियो नै भएकोले सामुदायिक रेडियोले प्रवाह गर्ने सूचना अझ धेरै विश्वसनीय हुनुपर्नेमा जोड दिए ।
नेपाल चिकित्सक संघका उपाध्यक्ष डाक्टर निरज सिंहले नारायणी एफ.एमले हरेक क्षेत्र र विषयमा निरन्तर सूचना प्रवाह गर्दै आएको बताउदै आम नागरिक र श्रोताको अझ सशक्त माध्यम बन्नुपर्ने बताए ।
एफ.एमका कार्यकारी अध्यक्ष गोविन्द दोवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा एफ. एम.का आजीवन सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।