वीरगंज,१ माघ । वीरगंज महानगरपालिकाका विद्यालयहरु थप तीन दिनका लागि बन्द गरिएको छ ।
तराई – मधेसमा दुई साता यता चिसो बढ्दै गएका कारण जनजिवन प्रभावित भएको छ।
हुस्सु लाग्नुका साथै शीतलहरपनि चल्न थालेपछि खासगरी बृद्धबृद्धा, बालबालिका र दैनिक ज्याला मजदुरीमा काम गर्नेहरुलाइ बढी सास्ती भएको छ ।
चिसो बढेपछि विद्यालयमा बालबालिकालाई पठनपाठनमा समस्या भएपछि वीरगंज महानगरपालिकाले यसअघि पुष २३ देखि पुष २९ गतेसम्म महानगरका सम्पूर्ण विद्यालयहरु बन्द गरेको थियो ।
सोमबार माघ १ गते सार्वजनिक विदापछि माघ २ गतेदेखि पठनपाठन सुचारु हुने भनिएपनि चिसो झन् बढ्नुका साथै शीतलहरपनि चल्न थालेपछि महानगरपालिकाले माघ २ गते मंगलबारदेखि माघ ४ गते बिहीबारसम्म थप तीन दिनका लागि विद्यालयहरु बन्द गर्ने निर्णय गरेको महानगरको शिक्षा समितिका संयोजक इश्वरचन्द्र यादवले जानकारी दिए।
माघ ५ गते मधेस प्रदेशमा बलिदानी दिवसको सार्वजनिक विदा दिइएको र माघ ६ गते शनिबार परेकाले अब महानगरका विद्यालयहरु माघ ७ गतेदेखिमात्रै नियमित रुपमा सञ्चालनमा आउने यादवले बताए ।