वीरगंज, १५ माघ । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले विकास निर्माणका काम समयमै नसक्ने ठेकेदारलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका छन्।
सोमबार वीरगंजमा आयोजित प्रेस संगठन नेपालको २० ओैं स्थापना दिवस तथा राष्ट्रिय परिषद बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मेयर सिंहले कार्यक्रममा सहभागी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग यस्तो आग्रह गरेका हुन्।
प्रधानमन्त्री प्रचण्डलाई आग्रह गर्दै मेयर सिंहले भने, ठेक्का सम्झौता गरेर समयमा विकास निर्माणका काम नगर्ने ठेकेदारको प्रवृत्ति स्थानीय तहका लागि ठूलो चुनौती भएको छ।त्यसकारण कानून संशोधन गरेर भएपनि समयमा काम नसक्ने ठेकेदारलाई कानूनी कारबाहीको दायरामा सरकारले ल्याउनु पर्छ।झ
फरक प्रसंगमा मेयर सिंहले पत्रकारीतामा सुधारको आवश्यकता रहेकोपनि बताए।पित पत्रकारिता बढेकोमा चिन्ता व्यक्त गर्दै उनले भने,पत्रकार आफैं अदालत,आफैं न्यायाधीश ,आफैं अख्तियार बनेर समाचार लेख्ने गरेका छन्।यो गम्भीर चिन्ताको विषय हो।यसमा पत्रकारले ध्यान दिनुपर्ने आवश्यक छ।
स्थानीय तहमा पाँच वर्ष काम गर्नका लागि जनप्रतिनिधिहरु निर्वाचित भएको भएपनि दुई वर्षपनि नबित्दै जनप्रतिनिधि बारे वितृष्णा फैलाउने काम भइरहेको गुनासो उनले गरे।
वीरगंजका श्रमजीवी पत्रकारहरुका लागि वीरगंज महानगरपालिकाले थुप्रै काम गरिरहेको उनले जानकारी गराए।वीरगन्ज महानगरपालिकाले आमसञ्चार प्राधिकरण गठन गर्नुका साथै लोक कल्याणकारी विज्ञापन वितरण , ज्येष्ठ पत्रकारका लागि पेन्शनको व्यवस्था , पत्रकारका लागि आपतकालीन् कोष स्थापना लगायतका काम गरेको उनले सुनाए ।
प्रेस संगठनका केन्द्रीय अध्यक्ष विष्णु सापकोटाको अध्यक्षता तथा प्रधानमन्त्री प्रचण्डको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटा,उपमहासचिव मातृका यादव,सचिव लिलामणी पोखरेल लगायतले पनि सम्बोधन गरेका थिए ।