8 December ,2024,Sunday

जाँच पास नभएर वीरगंज भन्सारमा थन्किए १२ सय सवारीसाधन

वीरगंज, १८ चैत । वीरगंज भन्सार कार्यालयमा एक हजार दुई सयभन्दा बढी सवारीसाधन जाँच पास नभएर भन्सार ‘यार्ड’मा थन्किएका छन् । अटो मोबिल व्यवसायीले शोरुममा भएका सवारी साधन बिक्री भएपछि मात्रै भन्सार यार्डमा रोकिएका सवारीसाधनको जाँच पास गराउने गर्दै आएकाले यार्डमा सवारी साधन थन्किने प्रवृत्ति बढेको हो ।

वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले कार्यालयमा मात्रै जाँच पास नभएका एक हजार दुई सयभन्दा धेरै इन्धनबाट चल्ने सवारीसाधन रहेका बताए । ‘यहाँ एक हजार दुई सयभन्दा बढी सवारीसाधन जाँच पास नभई रोकिएका छन् । व्यवसायीहरूले शोरुममा भएका सवारीसाधन बिक्री भएसँगै वा ग्राहकको माग बढेपछि भन्सार जाँच पास गराउने प्रवृत्ति छ,’ उनले भने ।

कार्यालयका अनुसार भन्सार यार्डमा बस, ट्रक तथा च्यासिस र बडीलगायत छन् । भन्सार कार्यालयका अनुसार २०७९ चैतमा भन्सारमा जाँच पास नभएका सवारी साधनको सङ्ख्या दुई हजार दुई सयभन्दा बढी थियो । त्यसै गरी २०८० को साउनमा भन्सारमा थन्किएका सवारीसाधनको सङ्ख्या घटेर एक हजार आठ सयमा झरेको थियो ।

२०८० चैत १५ गतेसम्म भन्सारमा थन्किएका सवारी साधनको सङ्ख्या एक हजार दुई सय छ ।अटोमोबिल्स एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष ध्रुव थापा आर्थिक मन्दीले दुई वर्षअघिदेखि नै सवारी साधन भन्सारमा जाँच पास नभई थन्किरहेको बताउँछन् ।

‘पहिला वीरगंज भन्सार कार्यालयमा झन्डै दुई हजार दुई सय सवारीसाधन भन्सार जाँच पास नभई थन्किएकामा अहिले व्यवसायीले विदेशबाट सवारी साधनको आयात घटाएर भन्सारमा भएको सवारी साधन छुटाउँदा रोकिएका सवारी साधनको सङ्ख्या केही घटिरहेको छ’, उनले भने, ‘आर्थिक मन्दी र बैङ्क तथा वित्तीय संस्थाले सहज ढङ्गले सवारी साधनमा लगानी नगर्दा पनि सवारी साधन भन्सारमा नै रोकिएका हुन् ।’

पूर्व अध्यक्ष थापाले भन्सारमा रोकिएका इन्धनबाट चल्ने सवारी साधन खरिद मूल्यभन्दा धेरै रकम भन्सार महसुल तथा राजस्वबापत तिर्नुपर्ने भएकाले पनि बिस्तारै छुटाउने नीति लिँदै आएको बताए । प्रमुख भन्सार प्रशासक पन्थीले भन्सार यार्डमा सवारीसाधन जाँच पास नगरीकनै थन्किनुले सवारी साधनको बजार सुस्ताएको सङ्केत गर्ने बताउँछन् ।

‘अहिले इन्धनबाट चल्ने सवारीसाधनको माग कम छ । त्यसैले पनि भन्सारमा रोकिरहेका सवारीसाधनको सङ्ख्या केही बढी देखिएको हो’, उनले भने, ‘भन्सार यार्डमा रोकिएका एक हजार दुई सय सवारी साधनको जाँच पास हुने हो भने कम्तीमा पनि १० अर्ब हाराहारीको राजस्व सङ्कलन हुनेछ ।’

वीरगंज भन्सार कार्यालयमा भन्सार जाँच पास नभई रोकिएका सवारी साधन मध्ये अधिकांश व्यावसायिक प्रयोजनका लागि ल्याइएका छन् । भाडाका बस, पिकअपलगायत छन् ।

‘अहिले यहाँका मान्छेको क्रय क्षमता निकै घटेको छ । अहिले आर्थिक मन्दीका कारण गाडी किन्ने क्षमतामा मान्छे पुगिसकेका छैनन्’, पूर्व अध्यक्ष थापाले भने, ‘अहिले व्यावसायिक गाडीबाट खासै कमाइ छैन । त्यही कारणले पनि व्यावसायिक प्रयोजनका सवारी साधनको खरिद गर्न व्यवसायी अनिच्छुक छन् ।’ उनका अनुसार बैङ्क तथा वित्तीय संस्थाले पनि निश्चित प्रकृतिका सवारी साधन बाहेक अन्यमा फाइनान्सिङ गर्न हिचकिचाइरहेका छन् ।

‘नयाँ सवारी साधन खरिद गर्नेले अहिले ५० प्रतिशत नगद लगानी गर्नुपर्ने हुन्छ’, उनले भने, बैङ्क तथा वित्तीय संस्थाले सवारी साधनमा ५० प्रतिशत लगानी गर्नसमेत आनाकानी गरिहरेकाले केही समस्या भएको हो ।’

विगतमा इन्धनबाट चल्ने सवारी साधनमा सवारी साधनको कुल लागतको ७०–८० प्रतिशत सम्म फाइनान्सिङ’ गर्ने व्यवस्था थियो । त्यस बेला ‘डाउन पेमेन्ट’ भने २०–३० प्रतिशत तिरे मात्रै पुग्ने गर्थ्यो । यद्यपि अहिले पनि विद्युतीय सवारी साधनमा भने बैङ्क तथा वित्तीय संस्थाले ७० प्रतिशत सम्म फाइनान्सिङ गर्दै आइरहेका छन् ।

प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...