19 January ,2025,Sunday

मधेस प्रदेशमा भरत साह मुख्यमन्त्री बन्लान् कि सरोज यादवकै सरकार टिक्ला

जनकपुरधाम, वैशाख ३० ।  मधेस प्रदेश सरकारबाट एमाले र माओवादीका मन्त्रीहरूले आइतबार राजीनामा दिएपछि छलफल गर्दै एमाले, माओवादी, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका संसदीय दलका नेता तथा सांसदहरू दुई महिना नपुग्दै मधेस प्रदेश सरकारबाट एमाले बाहिरिएको छ। केन्द्रमा कांग्रेससँग गठबन्धन तोड्दै एमालेसँग सहकार्य गरेपछि मधेसमा बनेको नयाँ सत्ता समीकरणको अढाइ महिना नहुँदै माओवादी केन्द्रले पनि सरकार छोडेको छ।

दुबै दल सरकारबाट बाहिरिएसँगै समर्थन समेत फिर्ता लिएपछि जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले र माओवादी सहितका चार दल नयाँ सरकार गठनको तयारीमा जुटेका छन्। प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई सरकारबाट समर्थन फिर्ता लिएको पत्र बुझाए लगत्तै चार दलले नयाँ सरकार गठन गर्ने विषयमा छलफल गरेका हुन्।

राजीनामा दिएका माओवादीका मन्त्री युवराज भट्टराईको निवासमा एमाले, माओवादी, लोकतान्त्रिक समाजवादी पार्टफ (लोसपा) र जनमत पार्टीका नेताहरूबीच छलफल भएको हो। छलफलमा चार वटै दलले मिलेर सरकार गठन गर्ने विषयमा समान्य कुराकानी मात्रै भएको नेताहरूले बताएका छन्।

१०७ सदस्यीय मधेस प्रदेश सभामा अहिले १०६ जना सांसद छन्। जसमा एमालेका २५, जनमत पार्टीका १३, लोसपाका ८ र माओवादीका ९ जना सांसद छन्।

प्रदेशमा सरकार बनाउन ५४ जना सांसद चाहिन्छ। अहिले सरकार बनाउने कसरतमा लागेका यी चार दल मिल्दा ५५ जना सांसद पुग्छन्। विभाजित भएर बनेको नयाँ जसपामा भने अहिलेसम्म कोही खुलेका छैनन्।

चारै दलबीच चार दिनदेखि लगातार मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकार ढालेर नयाँ सरकार बनाउने विषयमा छलफल भइरहेको एमालेका एक नेताले बताए।

चार वटै दलका नेताले चार दिनदेखि लगातार छलफल गरिरहनुभएको थियो। सरकारको स्वरूप, भागबण्डा, नेतृत्व लगायत विषयमा कुरा मिलिसकेपछि बल्ल नयाँ सरकार बनाउने विषयमा सहमति भएर आइतबार दुबै दलका नेताहरूले मन्त्रीलाई राजीनामा बुझाउन भन्नुभयो, राजीनामा बुझाएका एक मन्त्रीले भने।

माओवादी संसदीय दलका नेता भरतप्रसाद साहले नेतृत्व र भागबण्डा लगायत विषयमा पछिल्लो केही दिनदेखि निरन्तर संवाद भएको र सहमति नजिक पुगिसकेपछि आफूहरूले राजीनामा बुझाएको बताए। उनका अनुसार चारै दलबीच नेतृत्व सहितका विषय सहमतिको बिन्दु नजिक पुगेको छ।

चारै दलले आलोपालो सरकारको नेतृत्व गर्ने कुरा करिब सहमति नजिक पुगिसकेको छ। सुरूमा माओवादी त्यसपछि, एमाले, जनमत र लोसपाले नेतृत्व गर्ने सहमति करिब एउटा बिन्दुमा पुगिसकेको छ। तर मन्त्रालय भागबण्डा लगायतको विषय टुंगो लाग्न बाँकी छ, उनले भने। गठबन्धन भित्र रहेको जनमत पार्टी समेत माओवादीको नेतृत्व स्वीकार गर्न तयार रहेको एक नेताले बताए।

हामी जसपालाई कुनै हालतमा सरकारबाट निकाल्न खोजेका थियौं। जसपाका मुख्यमन्त्री हटाउन भारतको सुरसण्डमा भएको जमघटमा पनि भरतजी (साह) ले प्रचण्ड (पुष्पकमल दाहाल) सँगै जोखिम लिनुभएको थियो। त्यति बेला एमालेसहित हामी उहाँको ब्याकअपमा थियौं। फेरि पनि प्रचण्डले दबाब दिँदा पनि उहाँले अर्थबाहेकको मन्त्रालय नलिने अडान लिनुभयो। त्यसैले नैतिकताका आधारमा हामी उहाँलाई मुख्यमन्त्रीमा सहयोग गर्छौं, जनमत पार्टीका ती नेताले भने, सरकारमै जाने हाम्रो खासै चाहना छैन। किनकी यो सरकार पनि लामो टिक्ने अवस्था छैन। केन्द्रमा पनि प्रधानमन्त्रीले सरकारमा सहभागी हुन लगातार आग्रह गरिरहनुभएकै छ। तर त्यहाँ पनि हामी सहभागी नहुने लाइनमा छौं।

सुरसण्डमा वर्तमान सरकार ढालेर भरत साहलाई मुख्यमन्त्री बनाउने योजनामा लागेको लोसपा अहिले उनलाई मुख्यमन्त्री स्वीकार गर्न तयार रहेको ती नेताले बताए।

मधेसमा सभामुख सहित २५ जना सांसद रहेको एमाले सबभन्दा ठूलो दल छ। नेतृत्व र भागबण्डा लगायतका विषय टुंगो लाग्न बाँकी रहेको बताउँदै एमाले संसदीय दलका नेता सरोजकुमार यादवले ठूलो दलको हैसियतले आफूले मुख्यमन्त्रीमा दाबी गर्ने बताए।

ठूलो दल हुँदाहुँदै तीन पटक सरकारमा गएर पनि हामीले नेतृत्व गरेनौं। यसपालि नेतृत्वमा दाबी स्वाभाविक रूपले रहन्छ। नेतृत्व टुंगो लागिसकेको छैन। सबै कुरा हामी छलफल गरिसकेपछि टुंग्याउँछौं, उनले भने। तर एमालेका अर्का नेताले भने चार दलबीच मुख्यमन्त्री एमालेले पाउने सहमति भएको दाबी गरे।

मुख्यमन्त्रीबाहेक चार मन्त्रालय एमाले, तीन जनमतले, माओवादी र लोसपाले दुईरदुई वटा पाउने सहमति करिब करिब भइसकेको दलको नेताले जानकारी दिनुभएको छ, ती नेताले दाबी गरे, भरतजी (माओवादी संसदीय दलका नेता) अर्थ मन्त्रालयमा मान्नुभयो रे। तर जबसम्म सरकार बनिहाल्दैन, तबसम्म के हुन्छ, ठोकुवा गर्न भने सकिँदैन। जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादवले प्रदेश सरकारको नेतृत्वमा आफूहरूको दाबी रहने बताए।

सरकारको नेतृत्व र मन्त्रालयको भागबण्डाबारे अहिलेसम्म कुनै निर्णय नभएको उनको भनाइ छ। सरकारको पक्षमा रहेर वार्ता हुँदैन, पहिले विपक्षमा आउनुस्, त्यसपछि कुरा गरौंला भनेर हामीले भनेका थियौं। उहाँहरूले सरकार छोड्नुभयो, यादवले भने,  सरकार गठनको विषयमा केहीबेर छलफल भएको हो। तर सहमति केही भएको छैन। केही निर्णय माथिबाटै पनि हुन सक्छ। दुबै पार्टी सरकारबाट समर्थन फिर्ता लिइसकेपछि मुख्यमन्त्री यादवले समेत अरू दलहरूसँग छलफल अघि बढाएका छन्। यही सरकारलाई निरन्तरता दिन कांग्रेस र लोसपासँग संवाद भइरहेको मुख्यमन्त्री यादवले बताए।

तीस दिनको समय छ। सदनबाट म विश्वासको मत लिन्छु। तीस दिनभित्र मेरै पक्षमा विश्वासको मत आउँछ। मेरै नेतृत्वमा सरकार रहन्छ, मुख्यमन्त्री यादवले सेतोपाटीसँग भने, एक महिना कामकाज गर्न गाह्रो हुन्छ। बजेट बनाउने बेला थियो, बजेट नै अन्योलमा पर्ला। मधेस प्रदेशलाई अन्योलमा राख्ने संघको खानदानी बानी नै छ। संघीयता फेल कसरी गराउने एमालेको चरित्र नै हो। संघले संघीयता खतम नै गर्न पार्टी तोड्ने षड्यन्त्र भएको हो।

मुख्यमन्त्री यादवलाई सरकार टिकाउन कठिन रहे पनि असम्भव छैन। एमाले, माओवादीसँगै रहेको नेकपा एकीकृत समाजवादी अझै सरकारमै छ। एकीकृत समाजवादीबाट श्रम तथा यातायात मन्त्री बेची लुंगेलीले केन्द्रबाट आफूहरूलाई केही निर्देशन नआएकाले सरकारमै रहेको बताइन्। एमाले र माओवादीले नयाँ सरकार गठन गर्न एकीकृत समाजवादीलाई समेत बोलाएको थियो। तर छलफलमा उनीहरू गएनन्।

त्यस्तै केन्द्रमा जसपा खुलेरै विभाजित भए पनि प्रदेशमा अहिलेसम्म नयाँ पार्टीमा कोही खुलेका छैनन्। नेपाली कांग्रेससँग २२ जना सांसद छन्। एमाले सहितका दलसँग नयाँ सरकार गठनका लागि छलफलमा रहेको लोसपासँग मुख्यमन्त्री यादव सहितका जसपाका नेताहरू पनि संवादमा छन्।

यस्तो अवस्थामा जसपाका १९, कांग्रेसका २२, एकीकृत समाजवादीका ७ र लोसपाका ८ जना एक ठाउँमा आए यादव नेतृत्वको सरकार अझै पनि जोगिने अवस्था कायम रहन्छ। कांग्रेस संसदीय दलका नेता कृष्ण यादवले पनि जसपा, लोसपा र जनमत पार्टीसँग सरकारकै विषयलाई लिएर छलफल भइरहेको बताए। सबै दलसँग अहिले छलफल भइरहेको छ। कस्तो अवस्था बन्छ, हेरौं, उनले भने। साभार–सेतोपाटी

प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...