वीरगंज, २३ असार । वीरगंजमा आइतबार गहवामाईको दोश्रो रथ यात्रा भब्य रुपमा सम्पन्न भएको छ । गहवमाईको नवनिर्मित मन्दिरको १२ औं बर्ष पूरा भएको शुभ उपलक्ष्यमा आइतबार निकालिएको रथ यात्रामा हजारौं भक्तजनहरुको सहभागीता थियो ।
मन्दिर परिसरबाट काठको रथमा २६ केजी चाँदीबाट निर्मित डोलीमा गहवामाईको प्रतिमा राखेर निस्किएको रथ यात्रा घण्टघार चोक, रेल्वे रोड, अमर चोक, इदगाह चोक, छपकैया, वीर्ता, आदर्शनगर हुदै पुन मन्दिर पसिरमा पुगेर समापन भएको थियो ।
विभिन्न झाँकी, पञ्चेबाजा र भगवाधारी झण्डासहित निकालिएको रथ यात्रामा पर्सा, बारा, रौतहट गरी ३ जिल्लाका हजारौं भत्तक्तजनहरुको सहभागीता रहेको रथयात्रा आयोेजक समितिका अध्यक्ष श्याम पोखरेलले बताए । उनका अनुसार, गहवामाई मन्दिर प्राङगणमा आइतबार नै साँझ ६ बजेदेखि भजन किर्तन सहितको धार्मिक कार्यक्रम आयोजना गरिने छ । यस्तै सोमबार मन्दिर प्राङगणमै भण्डारा (प्रसाद वितरण) आयोजना गरिने उनले जानकारी दिए ।
आइतबारको रथ यात्रामा सहभागीताका लागि वीरगंज महानगरपालिकाले महानगरमा रहेका सबै विद्यालयहरुमा सार्वजनिक विदा दिएको थियो । यस्तै वीरगंज महानगर क्षेत्रमा आइतबार र सोमबार गरी दुई दिनका लागि माछा, मासु र मदिराको बिक्री वितरण र सेवनमा महानगरपालिकाले रोक लगाएको छ ।
रथ यात्रामा सहभागी वीरगंज महानगरका मेयर राजेशमान सिंहले वीरगंजलाई धार्मिक पर्यटनको केन्द्र बनाउन वीरगंज महानगरपालिकाले थालेको अभियानलाई गहवामाई रथ यात्राको आयोजनाले टेवा पुरयाएको बताए । उनले गत बर्षदेखि नै वीरगंज महानगर पालिकाको सहयोग र समन्वयमा मन्दिर सञ्चालक समितिले रथ यात्रा निकाल्न सुरु गरेको र यसले हरेक बर्ष निरन्तरता पाउने पनि बताए ।