वीरगंज, १९ कात्तिक । पर्साको पकाहामैनपुर गाउँपालिका वडा नम्बर २ मा दुइपक्षबीच झडप हुँदा १० जना घाईते भएका छन् । जग्गाको विषयमा धरमजित महतो पक्ष र किशोरी महतो पक्षबीच भएको झडपमा दुवैपक्षका १० जना घाईते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक भारतीका अनुसार जग्गाको विषयमा दुवैपक्षबीच विवाद भएर झडप भएको र दुवैतर्फका १० जना घाईते भएका हुन् । धरमजित महतो र किशोरी महतोबीच लामोसमयेखि जग्गाको विवाद रहेको थियो । जग्गाको विवादमा अदालतमा मुद्दा पनि परेको थियो ।
अदालतमा परेको मुद्दामा किशोरी महतो कोइरीको पक्षमा ७५१५ वर्गमिटर जग्गा भोग गर्न भने पछि बढी जग्गा भोगचलन गर्न खोज्दा धरमजीत महतो पक्षबीच झडप भएको हो ।
किशोरी महतो पक्षले बढी रहेको जग्गा भोगचलन गर्दा धर्मजित महतो पक्षले नाप नक्शा गरेर मात्रै काम गर्नु भन्दा किशोरी महतो पक्षले बल प्रयोग गरी जोत्न खोज्दा झडप भएको हो ।
झडपका क्रममा धरमजीत महतो, सुशीला देवी, रामवती देवी, रमेश कुशवाहा, महन्थ महतो कोइरी लगायत घाईते भएका छन् । किशोरी महतो पक्षका राधेश्याम, अमीर महतो, अनिल कुशवाहा, उमेश कुशवाहा, बृजेश कुशवाहा लगायतका १०/१५ जनाको समूहमा आएका उनीहरुले धरमजीत महतो पक्षकालाई लाठ्ठीले एक्कासी प्रहार गर्न थालेको धरमजीत महतोले बताए ।