प्रकाश उपाध्याय
वीरगंज, ०५ मंसिर । बारा जिल्लाको सिमरामा जेनजी युवाहरू र एमाले समर्थक कार्यकर्ताहरूबीच भएको झडप उग्ररूप लिन थालेपछि देशका विभिन्न जिल्लाहरूमा जेनजी युवाहरू पुनः सडक आन्दोलनमा देखा परिरहेका छन्। सिमरा घटनाले देशका अन्य स्थानहरूमा पनि तनाव फैलिन नदिई शान्ति–सुरक्षा कायम राख्न सरकार विशेष सतर्क हुन आवश्यक छ।
जेनजी आन्दोलनकै जगमा बनेको वर्तमान सरकारले आन्दोलनको भावना र मागलाई सम्बोधन गर्नुअघि चुनावमाथि मात्र जोड दिनुले जेनजी नेतृत्व नै सरकारप्रति असन्तुष्ट देखिन थालेका छन्। हिजोका दोषी तथा भ्रष्टाचारीहरूलाई कारबाही गर्न सरकारले देखाएको उदासीनताले आम नागरिकको भरोसा कमजोर बन्दै गएको छ। यही कारण आम मानिसहरूबीच “जुन जोगी आए पनि कानै चिरेका” भन्ने निराशा फैलिँदै गएको देखिन्छ।
यसबीच प्रहरी प्रशासनको मनोबल कमजोर बन्ने, द्वन्द्व बढ्दै जाने अवस्थाले फेरि देश द्वन्द्वको दलदलमा त फस्ने होइन भन्ने त्रास नेपाली मनमा बढिरहेक छ। देशले अब थप द्वन्द्व, हिंसा वा पीडादायी घटना सहन सक्दैन। कुनै आमाको काख उजाडिने, कुनै दिदीबहिनीको सिउँदो पुछिने अवस्था नआओस् भनेर सरकार अत्यन्तै जिम्मेवार र संवेदनशील बन्न जरुरी छ।
सरकारले सिमरा घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडाभन्दा कडा कारबाही गर्नुपर्छ। घाइतेहरूको उचित उपचार र न्याय सुनिश्चित गर्नु राज्यको प्राथमिक दायित्व हो। साथै वर्तमान परिवर्तनशील राजनीतिक परिवेशलाई बुझेका दलका नेताहरू, विशेषगरी एमालेका केही नेताहरूले आफ्नो अभिव्यक्ति, व्यवहार र शैलीमा मर्यादा अपनाउनु आवश्यक छ। पार्टीको सिद्धान्त, नीति तथा कार्यक्रम जनताको मन जित्ने खालका हुनुपर्छ। हिजो भएका कमजोरीहरूको आत्मालोचना गर्दै जनतासँग माफी मागेर नेतृत्वले आफूलाई रूपान्तरण गर्नुपर्छ।
जेनजी भाई–बहिनीहरूले पनि लोकतान्त्रिक पद्धतिलाई अंगाल्दै राजनीतिक दलहरूलाई निषेध गर्ने, बन्देज लगाउने, बल प्रयोग वा आगजनीजस्ता गैर–लोकतान्त्रिक क्रियाकलाप त्याग्नुपर्छ। आन्दोलनको संस्कृतिलाई संयम, मर्यादा, संवाद र सहमतिद्वारा अघि बढाउन आवश्यक छ। प्रत्येक विषयमा सडक आन्दोलन र आगजनीको बाटो रोजिँदा विकास आयोजना अवरुद्ध हुने, अर्थतन्त्र कमजोर बन्ने, बालबालिकाको पढाइदेखि मनोविज्ञानमा नकारात्मक असर पर्ने, सामाजिक सद्भाव भंग हुने खतरा हुन्छ।
यदि प्रहरी प्रशासन तथा सरकारको उपस्थितिमा नै यस्ता अराजक गतिविधि निरन्तर भइरहने हो भने देश अराजकताको दिशामा धकेलिन सक्छ, जसले अन्ततः गृहयुद्धजस्तो भयावह अवस्था निम्त्याउन सक्छ। त्यस्तो परिस्थिति सिर्जना भए नेपाल असफल राष्ट्र घोषित भइ विभिन्न शक्ति–केन्द्रहरूको प्रभाव बढ्नेछ, जहाँ कुनै पक्षको जित होइन, केवल नेपाल र नेपालीको हार हुनेछ।
अतः अबको राष्ट्रिय राजनीति द्वन्द्व होइन, राष्ट्रिय एकता, मेलमिलाप र सहअस्तित्वको मार्गचित्रबाट अघि बढ्नुपर्छ। यही बाटोले मात्र देशलाई स्थिरता, समृद्धि र भविष्यको सुरक्षित दिशातर्फ डोर्याउँछ। लेखक : नेपाली काङ्ग्रेस नेता



