अभिलाष गुप्ता
वीरगंज, ०५ मंसिर । डिजिटल कारोबारसँगै बढ्दै गएको अनलाइन ठगी, फेक इन्भेस्टमेन्ट तथा विभिन्न प्रकारका स्क्यामबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंक वीरगञ्ज कार्यालयले एक पत्रकार सम्मेलन आयोजना गरेको छ। कार्यक्रम बैंकको सभाहलमा सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख निर्देशक सुशील भट्टराईले हाल डिजिटल माध्यम प्रयोग गरी गरिने ठगीका रूप, चुनौती तथा समाधानका उपायबारे विस्तृत जानकारी प्रस्तुत गरे। उनका अनुसार पछिल्लो समय फेक इन्भेस्टमेन्ट स्किम, कपी ट्रेडिङ, अफिलिएट मार्केटिङको नाममा गरिने ठगी, फर्जी लिंकमार्फत हैकिङ, OTP/PIN/पासवर्ड चोरी जस्ता घटनाहरू तीव्र रूपमा बढेका छन्।
भट्टराईले अनलाइनमार्फत सजिलो कमाइको लालच, अपरिचित व्यक्तिको सुझाबमा एप डाउनलोड गर्ने, फर्जी विज्ञापनमा विश्वास गर्ने र सुरक्षा चेतनाको कमीले धेरै नागरिक ठगीमा परिरहेको बताए।

बढ्दो उजूरी तथा सार्वजनिक समस्या समाधानलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंक वीरगञ्ज कार्यालयमा ‘गुनासो सुनुवाइ डेस्क’ स्थापना प्रक्रिया अन्तिम चरणमा रहेको प्रमुख निर्देशक भट्टराईले जानकारी दिए।
यस डेस्कमार्फत डिजिटल कारोबार र बैंकिङ सेवासम्बन्धी गुनासोको छिटो समाधानमा सहजीकरण हुने उनले बताए।
उनले डिजिटल ठगीबाट बच्न सबै नागरिकलाई सतर्क रहन आग्रह गर्दै थपे अपरिचित लिंकमा क्लिक नगर्नुहोस्, अनधिकृत एप डाउनलोड नगर्नुहोस्, व्यक्तिगत विवरण कसैसँग साझा नगर्नुहोस्। नेपाल राष्ट्र बैंकले अनुमति नदिएको वित्तीय गतिविधिमा सहभागी नहुनु नै सुरक्षित विकल्प हो। नेपाल राष्ट्र बैंकले डिजिटल कारोबारलाई सुरक्षित, व्यवस्थित र विश्वसनीय बनाउने गरी नियमन तथा निगरानीलाई अझ कडा बनाइने जनाएको छ।



