अभिलाष गुप्ता
वीरगंज, ०६ मंसिर । सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले आज वीरगंजको गण्डक क्षेत्रमा विशेष सरप्राइज चेकिङ अभियान सञ्चालन गरेको छ।
चेकजाँच कार्य जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटवाल,वरिष्ठ सई गुणनिधि खकुरेल तथा ट्राफिक प्रहरीको टोलीले कडाइका साथ गरिएको थियो।
अचानक गरिएको चेकिङका क्रममा मापसे (मद्यपान गरी सवारी चलाएको) एक जना चालक पक्राउ परेका छन्, जसलाई कानुनअनुसार आवश्यक कारबाहीका लागि नियन्त्रणमा लिइएको ट्राफिक कार्यालयले जानकारी दिएको छ।
त्यसैगरी, सवारी कागजात नभएका तथा आवश्यक नियमहरू उल्लङ्घन गर्ने दर्जनौं चालकलाई पनि रोक्दै आवश्यक निर्देशन तथा चेतावनी दिइएको थियो।
ट्राफिक प्रमुख कटवालका अनुसार, बढ्दो दुर्घटना दरलाई नियन्त्रण गर्नका लागि नियमित अनुगमनसँगै यस्ता आकस्मिक चेकिङहरू निरन्तर गरिने बताइएको छ।
उनले चालकहरूलाई सुरक्षित ड्राइभिङ, गति सीमितता पालन, मापसे नगर्ने, कागजात साथमा राख्ने तथा ट्राफिक नियमको पूर्ण सम्मान गर्न आग्रह गरेका छन्।







