वीरगंज, ०२ पुस । नेपाल चिकित्सक संघको ३० औँ कार्यकारिणी समितिको निर्वाचन नजिकिँदै जाँदा देशभर चिकित्सक समुदायमा चुनावी सरगर्मी बढेको छ। यही सन्दर्भमा वीरगंजका बरिष्ठ चिकित्सक डा. उदयनारायण सिंहले उपाध्यक्ष (मधेस प्रदेश) पदमा उम्मेदवारी दर्ता गर्दै चिकित्सक अधिकार, सुरक्षा र पेशागत सम्मानलाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।
नेपाल चिकित्सक संघको नयाँ नेतृत्व चयनका लागि काठमाडौं उपत्यका बाहिर माघ २ र ३ गते तथा काठमाडौं उपत्यकाभित्र माघ १५, १६ र १७ गते मतदान हुने कार्यतालिका तय भइसकेको छ। उक्त निर्वाचनका लागि प्रगतिशील विचारधारामा आस्था राख्ने डा. मंगल रावलको नेतृत्वमा बनेको प्यानलले पूर्ण सूची सहित उम्मेदवारी दर्ता गरिसकेको छ। सोही प्यानलबाट डा. सिंह उपाध्यक्ष (मधेस प्रदेश) पदका उम्मेदवार बनेका हुन्।
संकटका बेला अग्रपंक्तिमा उभिएका चिकित्सक
वीरगंज स्थित नारायणी अस्पतालका सूचना अधिकारी समेत रहेका डा. सिंह लामो समयदेखि सोही अस्पतालमा कार्यरत छन् । कोरोना महामारीका बेला अक्रान्त बनेको वीरगंजमा उनी अग्रपंक्तिमा रहेर कोभिड–१९ संक्रमित बिरामीहरूको उपचारमा निरन्तर खटिए। आकस्मिक विभागको सेवा विस्तार, सर्पदंशका घाइतेको उपचार व्यवस्थापन देखि महामारी नियन्त्रण सम्म उनको सक्रिय भूमिका रहँदै आएको छ।
कोभिड महामारीका दौरान नारायणी अस्पतालको कोभिड प्रमुखको जिम्मेवारी सम्हालेपछि डा. सिंह स्वास्थ्यकर्मी र सर्वसाधारणबीच थप लोकप्रिय बने। त्यतिबेला नेपालकै चर्चित अनलाइन सञ्चारमाध्यम ‘अनलाइनखबर डट कम’ ले उनलाई ‘कोभिड वारियर’ का रूपमा पहिचान समेत दिएको थियो। पछिल्लो समय हैजाको महामारी फैलिँदा पनि उनी पुनः अग्रपंक्तिमा रहेर बिरामीको उपचारमा जुटिएका थिए।

संगठनात्मक अनुभव र नेतृत्व क्षमता
डा. सिंहले यसअघि नेपाल चिकित्सक संघ नारायणी अञ्चल शाखाको सदस्य तथा महासचिवको जिम्मेवारी सफलता पूर्वक निर्वाह गरिसकेका छन् । संगठनभित्रको अनुभव, मैदानमा आधारित स्वास्थ्य सेवा र चिकित्सकका व्यावहारिक समस्याको प्रत्यक्ष ज्ञानका कारण उनी मधेस प्रदेशका चिकित्सकको साझा आवाज बन्न सक्ने उम्मेदवारका रूपमा हेरिन थालेका छन् ।
डा. सिंहका प्रमुख चुनावी प्रतिबद्धता
डा. सिंहले उम्मेदवारीसँगै सार्वजनिक गरेका प्रमुख एजेन्डाहरू यस प्रकार छन्—
1. लामो समयदेखि थाती रहेका तलब, सेवा सुविधा र सुरक्षा सम्बन्धी विषयलाई प्राथमिकतामा राखी चिकित्सक अधिकारको सुनिश्चितता गर्ने।
2. निजी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरूको तलब, सुविधा र पेशागत सुरक्षाका समस्या दीर्घकालीन रूपमा समाधान गर्न ठोस पहल गर्ने।
3. तीन दशकदेखि यथास्थितिमा रहेको चिकित्सक दरबन्दीलाई समयानुकूल परिमार्जन गर्न र रोजगारीका नयाँ अवसर सिर्जना गर्न सरकारलाई दबाब दिने।
4. पोस्ट–ग्राजुएट अध्ययन पूरा गरेर पनि दरबन्दी अभावमा बढुवाबाट वञ्चित चिकित्सकहरूको हकहितका लागि सरोकारवाला निकायसँग प्रभावकारी पहल गर्ने।
5. सरकारी नियुक्तिमा देखिँदै आएको दलगत प्रवृत्तिको अन्त्य गर्दै ‘हाम्रो होइन, राम्रो’ भन्ने संस्कृतिको विकासका लागि आवाज उठाउने।
6. चिकित्सक पेशालाई असर पार्ने अव्यवहारिक कन्जुमर कोर्टको वर्तमान व्यवस्थाका विषयमा सरकारसँग निर्णायक वार्ता र दबाब सिर्जना गर्ने।
7. मधेस प्रदेशभित्र रहेका चिकित्सक संघका विभिन्न शाखाबीच समन्वय गरी सेवा, सुविधा, सुरक्षा तथा शैक्षिक गतिविधिसहितको वार्षिक कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्ने।
डा. सिंहले आफू निर्वाचित भए मधेस प्रदेशका मात्र होइन, समग्र देशभरका चिकित्सकको हकहित र पेशागत सम्मानका लागि सशक्त रूपमा आवाज उठाउने प्रतिवद्धता व्यक्त गरेका छन्।



