वीरगंज, २७ फागुन । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगंजले शैक्षिक सत्र २०८२/०८३ का प्रथम वर्षका एमबीबीएस, बीडीएस, बी.एस्सी. नर्सिङ, बीएनएस, बीएमएलटी तथा बीएमआईटी कार्यक्रमका नवप्रवेशी विद्यार्थीहरूका लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। उक्त कार्यक्रम २०८२ साल फागुन २७ गते नेशनल मेडिकल कलेजको लेक्चर थिएटर–१, वीरगञ्जमा सम्पन्न भएको हो।
नयाँ शैक्षिक यात्राको सुरुवातसँगै विद्यार्थीहरूलाई कलेजको शैक्षिक वातावरण, नियम–कानुन, शैक्षिक संरचना तथा पेशागत दायित्वबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा विद्यार्थी, अभिभावक तथा कलेजका प्राध्यापक तथा कर्मचारीबीच परिचयात्मक वातावरण सिर्जना गरिएको थियो।
कार्यक्रममा नेशनल मेडिकल कलेजका प्रिन्सिपल प्रा. डा. के. एन. सिंहको अध्यक्षता रहेको थियो भने कलेजका अध्यक्ष प्रा. डा. जैनुदिन अन्सारी प्रमुख अतिथि तथा प्रबन्ध निर्देशक श्री शहनवाज अन्सारी विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रमका क्रममा राष्ट्रिय गान प्रस्तुत गरिएको थियो भने परम्परागत रूपमा पानस प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो। त्यसपछि नवप्रवेशी विद्यार्थी, अभिभावक तथा प्राध्यापकहरूले आ–आफ्नो परिचय प्रस्तुत गरेका थिए। साथै विद्यार्थीहरूलाई प्रा. डा. रवि शंकर गुप्ताद्वारा शपथ ग्रहण गराइएको थियो।
कार्यक्रममा अस्पताल निर्देशक डा. इशरत जहाँ अन्सारी, एडमिसन तथा मार्केटिङ डाइरेक्टर श्री अबिद हुसैन अन्सारी, एकेडेमिक डाइरेक्टर डा. रुबी श्रेष्ठ लगायत अन्य विशिष्ट अतिथिहरूले स्वागत मन्तव्य व्यक्त गर्दै विद्यार्थीहरूलाई अनुशासन, समर्पण र मानव सेवाको भावनासहित अध्ययनमा अग्रसर हुन प्रेरणा दिनुभएको थियो।
कार्यक्रमको अन्त्यमा नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक श्री शहनवाज अन्सारीले धन्यवाद ज्ञापन गर्दै नयाँ विद्यार्थीहरूको उज्ज्वल शैक्षिक यात्राको कामना व्यक्त गर्नुभयो।
नेशनल मेडिकल कलेजले गुणस्तरीय चिकित्सा शिक्षा प्रदान गर्दै स्वास्थ्य सेवा तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै आइरहेको छ।





