वीरगंज, २९ फागुन । मारवाडी युवा मञ्च र ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरको संयुक्त आयोजनामा “मारवाडी प्रिमियर लिग–३” क्रिकेट प्रतियोगिता शुक्रबार वीरगंजमा भव्य रूपमा शुरु भएको छ। प्रतियोगिताको उद्घाटन वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले गरेका हुन्।
वीरगंजको आदर्शनगर रंगशालामा आयोजित उद्घाटन समारोह ग्रीन सिटी सामुदायिक प्रहरी आदर्शनगर का अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा नगर प्रमुख राजेशमान सिंह उपस्थित थिए।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा मारवाडी युवा मञ्चका अध्यक्ष अनुज रुङ्टा, सहायक प्रमुख जिल्ला अधिकारी बिनोद पोखरेल, जिल्ला प्रहरी कार्यालय पर्साका एसपी सुदिप राक्ल्ज पाठक, साथै राजु कार्की, बिक्रम सुवेदी, कमल चौगाई लगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
आयोजकका अनुसार स्वर्गीय सुशील कुमार खेतान (टिपु) को स्मृतिमा आयोजना गरिएको उक्त प्रतियोगिता फागुन २९ गते (१३ मार्च २०२६) देखि सुरु भई आदर्शनगर रंगशालामै सञ्चालन हुनेछ। प्रतियोगितामा कुल १० वटा टिम सहभागी हुनेछन् भने प्रतियोगिता अवधिभर २३ वटा खेल खेलाइने कार्यक्रम रहेको छ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीलाई विजेता घोषित गरिनेछ। विजेता टोलीले ४ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले २ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने कार्यक्रम संयोजक केशव खेतानले जानकारी दिएका छन्।
उद्घाटनपछि सम्पन्न पहिलो खेलमा एभरेस्ट ब्लेजिङ हक्स र दि फग फाइटर कैलाशबीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा दि फग फाइटर कैलाश ३३ रनले विजयी भएको आयोजकले जनाएको छ।
त्यसैगरी दोस्रो खेल मकालु महाकाल राइजर र निल गिरि ज्यागुवारबीच सम्पन्न भएको थियो। प्रतियोगिताका खेलहरू आगामी दिनहरूमा पनि निरन्तर सञ्चालन हुने आयोजकले जनाएको छ।





