अभिलाष गुप्ता
वीरगंज, ३० फागुन । मारवाडी युवा मञ्च र ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरको संयुक्त आयोजनामा सञ्चालन भइरहेको “मारवाडी प्रिमियर लिग–३” क्रिकेट प्रतियोगिता अन्तर्गत दोस्रो दिनका खेलहरू सम्पन्न भएका छन्। प्रतियोगिता वीरगंजको आदर्शनगर रंगशालामा उत्साहका साथ सञ्चालन भइरहेको छ।
ग्रीन सिटी सामुदायिक प्रहरी आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा सम्पन्न खेलहरूमा खेलाडी तथा दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। स्वर्गीय सुशील कुमार खेतान (टिपु)को स्मृतिमा आयोजना गरिएको उक्त प्रतियोगिता फागुन २९ गतेदेखि सुरु भई चैत ८ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
प्रतियोगितामा कुल १० वटा टोली सहभागी रहेका छन् भने प्रतियोगिता अवधिभर २३ वटा खेल खेलाइने कार्यक्रम रहेको छ। उत्कृष्ट प्रदर्शन गर्ने टोलीलाई विजेता घोषित गरिनेछ। विजेता टोलीले ४ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले २ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने प्रतियोगिता संयोजक केशव खेतानले जानकारी दिएका छन्।
दोस्रो दिनको पहिलो खेल मनास्थलु रैडर र अन्नपूर्ण टाइगरबीच भएको थियो। उक्त खेलमा मनास्थलु रैडरले पहिलो ब्याटिङ गर्दै अन्नपूर्ण टाइगरसामु ८९ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको अन्नपूर्ण टाइगरले उत्कृष्ट प्रदर्शन गर्दै ६ विकेटले जित हासिल गर्दै खेल आफ्नो पक्षमा पार्न सफल भयो।
त्यसैगरी दोस्रो दिनको दोस्रो खेल धौलागिरी बैधीमाई र कञ्चनजंगा वीरगञ्जबीच भएको थियो। खेल प्रतिस्पर्धात्मक रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ। प्रतियोगिताका आगामी खेलहरू पनि निर्धारित तालिका अनुसार आदर्शनगर रंगशालामै सञ्चालन हुनेछन्।
प्रतियोगिताले स्थानीय खेलाडीलाई प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै समुदायबीच आपसी सद्भाव र खेल संस्कृतिलाई थप मजबुत बनाउने विश्वास आयोजकले व्यक्त गरेका छन्।





