अभिलाष गुप्ता
वीरगंज, १० जेठ । वीरगंज महानगरपालिका–१० अशोक वाटिकास्थित माउन्ट मकालु सेकेन्डरी स्कूलको आयोजनामा एक दिने निःशुल्क आँखा जाँच शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
उक्त शिविर Birgunj Community Eye Center तथा Tilganga Eye Hospital को प्राविधिक सहयोगमा सञ्चालन गरिएको थियो। शिविरमा अनुभवी अप्टोमेट्रिस्ट प्रभात चौधरीयाले विद्यार्थी, अभिभावक तथा स्थानीय बासिन्दाहरूको आँखा परीक्षण गर्नुभएको थियो। कार्यक्रममा श्रीती चौधरी र ओमप्रकाश चौधरीले सहजीकरण तथा सहयोग प्रदान गर्नुभएको थियो।
शिविर अन्तर्गत सेवाग्राहीहरूलाई निःशुल्क पूर्ण आँखा परीक्षण सेवा प्रदान गरिएको थियो भने चस्मा खरिदमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको थियो। साथै, मोतियाबिन्दु सम्बन्धी बिरामीहरूका लागि निःशुल्क शल्यक्रिया सेवा उपलब्ध गराइने जानकारी आयोजकले दिएका छन्।
विद्यालयका प्रधानाध्यापक राहुल श्रीवास्तवका अनुसार कार्यक्रमको मुख्य उद्देश्य विद्यालय समुदायमा आँखा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्नुका साथै प्रारम्भिक अवस्थामै आँखा सम्बन्धी समस्याको पहिचान गर्नु रहेको हो।विद्यालय प्रशासनले आगामी दिनहरूमा पनि यस्ता सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।







