रक्सौल, १३ जेष्ठ । रक्सौल शहरको धार्मिक आस्था, सांस्कृतिक विरासत तथा पर्यटनको पहिचान बनेको ऐतिहासिक सूर्य मन्दिरको जीर्णोद्धार तथा सौन्दर्यीकरणलाई लिएर सोमबार रक्सौल थाना परिसरमा सूर्य मन्दिर समितिको एक महत्वपूर्ण बैठक सम्पन्न भएको छ।
बैठकको अध्यक्षता समितिका पदेन अध्यक्ष तथा स्थानीय विधायक प्रमोद कुमार सिन्हाले गरेका थिए। बैठकमा मन्दिर परिसरको समग्र विकास, तालाबको सरसफाइ, सौन्दर्यीकरण तथा यसलाई धार्मिक एवं पर्यटकीय आकर्षणको प्रमुख केन्द्रका रूपमा विकास गर्ने विषयमा विभिन्न महत्वपूर्ण प्रस्तावहरूमा विस्तृत छलफल गरिएको थियो।
बैठकलाई सम्बोधन गर्दै विधायक प्रमोद कुमार सिन्हाले सूर्य मन्दिर केवल धार्मिक स्थल मात्र नभई रक्सौलको सांस्कृतिक पहिचान र जनआस्थाको गहिरो केन्द्र भएको बताए। उनले यो हामी सबैको सामूहिक जिम्मेवारी भएको उल्लेख गर्दै यस ऐतिहासिक धरोहरको आधार कमजोर हुन नदिनु पर्नेमा जोड दिए। उनले यसका लागि छिट्टै दीर्घकालीन र प्रभावकारी कार्ययोजना तयार गरी मन्दिरको जीर्णोद्धार तथा सौन्दर्यीकरण कार्यलाई तीव्र रूपमा अघि बढाइने बताए।
उनले आगामी दिनमा सूर्य मन्दिरलाई धार्मिक पर्यटनको नक्सामा विशेष पहिचान दिलाउन हरसम्भव प्रयास गरिने उल्लेख गर्दै देश–विदेशबाट आउने श्रद्धालु तथा पर्यटकहरूले यहाँको आध्यात्मिक तथा सांस्कृतिक गरिमासँग जोडिन सकून् भन्ने उद्देश्य रहेको बताए।
बैठकमा उपस्थित रिपुराज मिल एग्रो प्रा. लिमिटेडका निर्देशक रामेश्वर गुप्ताले विधायकको सिफारिसअनुसार आफ्नो पूर्व घोषणा दोहोर्याउँदै सूर्य मन्दिरको जीर्णोद्धार तथा सौन्दर्यीकरणमा लाग्ने सम्पूर्ण खर्च कम्पनीले व्यहोर्ने बताए। उनले यो कार्य केवल सामाजिक दायित्व मात्र नभई धार्मिक आस्थासँग जोडिएको पुण्य कार्य भएको पनि बताए।
बैठकपछि विधायक प्रमोद कुमार सिन्हा, एसडीएम मनीष कुमार, रक्सौल थानाध्यक्ष आईपीएस हेमन्त सिंह तथा समितिका सदस्यहरूले मन्दिर परिसरको निरीक्षण गरेका थिए। यस क्रममा रिपुराज एग्रो प्रा. लिमिटेडका निर्देशकद्वारा प्रस्तावित जीर्णोद्धार तथा सौन्दर्यीकरण कार्यहरूबारे विस्तृत छलफल गरिएको थियो।
निरीक्षणका क्रममा विधायकले नगर परिषद् रक्सौलद्वारा मन्दिर तालाबको भइरहेको सरसफाइ कार्यको पनि अवलोकन गर्दै सम्बन्धित अधिकारीहरूलाई आवश्यक निर्देशन दिएका थिए।
त्यसैगरी मिडिया प्रभारी रजनीश प्रियदर्शीले मन्दिर विकासका लागि जनसहभागिता तथा प्रशासनिक सहयोगमार्फत छिट्टै धेरै सकारात्मक पहलहरू व्यवहारमा देखिने बताए।
बैठकमा समितिका सचिव शम्भु प्रसाद चौरसिया, कोषाध्यक्ष गणेश अग्रवाल, मिडिया प्रभारी रजनीश प्रियदर्शी, राकेश कुशवाहा, अरुण कुमार गुप्ता, दिनेश धानोठिया, गुड्डू खेतान, पप्पू कुमार गिरि, कमलेश कुमार, अजय पटेल, मृत्युंजय सिंह लगायत समितिका अन्य सदस्यहरूको उपस्थिति रहेको थियो।







