अभिलाष गुप्ता
वीरगञ्ज, २५ जेष्ठ । पर्साको वीरगंज–१३, राधेमाईस्थित साउथ जोन माध्यमिक विद्यालयले आफ्ना करिब १८२५ विद्यार्थीका लागि दुर्घटना तथा स्वास्थ्य बीमा सुविधा सुरु गरेको छ। विद्यालयले विद्यार्थीहरूको सुरक्षा तथा अभिभावकमाथि पर्ने आर्थिक भार कम गर्ने उद्देश्यले यो व्यवस्था लागू गरेको जनाएको छ।
प्याब्सन पर्साका अध्यक्ष एवं साउथ जोन माध्यमिक विद्यालयका सञ्चालक सरोज प्रसाद चौधरीको पहलमा नेको इन्स्योरेन्स लिमिटेड सँगको सहकार्यमा प्रत्येक विद्यार्थीका लागि रु. १ लाख बराबरको दुर्घटना बीमा र रु. ३ हजार ५ सय बराबरको स्वास्थ्य बीमा गरी कुल रु. १ लाख ३ हजार ५ सय बराबरको बीमा सुविधा प्रदान गरिएको हो।
विद्यालयका अनुसार उक्त बीमा सुविधा २४ घण्टा लागू रहनेछ। यसअन्तर्गत विद्यार्थी विद्यालयमा, घरमा, बाटोमा, खेलकुदका क्रममा वा अन्य कुनै पनि समयमा दुर्घटनामा परेमा उपचार खर्च दाबी गर्न सक्नेछन्। दुर्घटना बीमाअन्तर्गत वर्षमा अधिकतम रु. १ लाखसम्म तथा प्रति घटनामा अधिकतम रु. २० हजारसम्मको उपचार सुविधा प्राप्त गर्न सकिने व्यवस्था रहेको छ।
त्यसैगरी स्वास्थ्य बीमाअन्तर्गत सामान्य बिरामी पर्दा ओपीडी टिकट तथा औषधोपचार खर्च वापत वर्षमा अधिकतम रु. ३ हजार ५ सयसम्म दाबी गर्न सकिने विद्यालयले जनाएको छ।
विद्यालयले यस योजनाबाट विद्यार्थीहरूको सुरक्षा थप मजबुत हुने, आकस्मिक स्वास्थ्य तथा दुर्घटनाजन्य खर्च व्यवस्थापनमा सहजता आउने र अभिभावकलाई आर्थिक राहत पुग्ने विश्वास व्यक्त गरेको छ।







