अभिलाष गुप्ता
वीरगंज, २० अषाढ । अत्यधिक गर्मीका कारण रगतको माग बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिका वडा नं. ३ को आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ।
वीरगंज महानगरपालिका वडा नं. ३ कार्यालय भवनमा आयोजित कार्यक्रममा Helping Youth Club of Birgunj ले समन्वय गरेको थियो। कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष बैजुलाल स्वर्णकार प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए।
रक्तदान कार्यक्रममा एक महिलासहित २२ जनाले स्वेच्छिक रूपमा रक्तदान गरेका छन्। रक्तदान गर्नेहरूमा निलु श्रेष्ठ, विशाल सरार्फ, निखिल सरार्फ, अमित सरार्फ लगायत रहेका थिए। आयोजकका अनुसार गर्मीका कारण अस्पतालहरूमा रगतको माग बढिरहेको तथा आवश्यक रगतको सहज उपलब्धताका लागि कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा प्रेस चौतारी पर्साका अध्यक्ष तथा वरिष्ठ सञ्चारकर्मी निरञ्जन मिश्र लगायत विभिन्न समाजसेवी, स्थानीयवासी र युवाहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।
आयोजकले रक्तदान जीवन बचाउने महान कार्य भएकाले सबै स्वस्थ नागरिकलाई नियमित रूपमा स्वेच्छिक रक्तदान गर्न आग्रह गर्दै यस्ता सामाजिक तथा मानवीय कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाएको छ।


