हाजीपुर (भारत), २० अषाढ / जुलाई ४ । भारतको बिहार राज्यस्थित हाजीपुर शहरको मेदिनीमल क्षेत्रमा रहेको ट्यागोर किड्स एन्ड हाई स्कुलमा आध्यात्मिक विश्वगुरु स्वामी विवेकानन्दको पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको छ।
कार्यक्रममा विद्यालयका निर्देशक डा. शशि भूषण कुमारले स्वामी विवेकानन्दको तस्बिरमा पुष्पाञ्जली अर्पण गर्दै उहाँप्रति श्रद्धासुमन व्यक्त गरे। सम्बोधनका क्रममा उनले प्रत्येक वर्ष जुलाई ४ मा स्वामी विवेकानन्दको पुण्यतिथि (महासमाधि दिवस) मनाइने उल्लेख गर्दै सन् १९०२ जुलाई ४ मा पश्चिम बंगालको बेलुर मठमा उहाँले महासमाधि लिनुभएको स्मरण गरे।
उनले स्वामी विवेकानन्द १९ औँ शताब्दीका महान आध्यात्मिक सन्त, वेदान्त दर्शनका प्रचारक तथा युवापुस्ताका प्रेरणाका स्रोत भएको बताए। साथै, रामकृष्ण मिशनमार्फत पेरूलगायत ल्याटिन अमेरिकी मुलुकहरूमा पनि उहाँका योग, हिन्दू दर्शन र आध्यात्मिक विचार व्यापक रूपमा परिचित रहेको उल्लेख गरे। “उठ, जाग र लक्ष्य प्राप्त नभएसम्म नरोकिनू” भन्ने उहाँको प्रेरणादायी सन्देश आज पनि विश्वभरका युवाका लागि मार्गदर्शक बनेको उनले बताए।
कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिकाले पनि स्वामी विवेकानन्दको तस्बिरमा पुष्पाञ्जली अर्पण गर्दै उहाँका जीवन, विचार र उपदेशबारे विद्यार्थीहरूलाई जानकारी गराएका थिए।
श्रद्धाञ्जली कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका तथा ठूलो संख्यामा विद्यार्थीहरूको सहभागिता रहेको थियो।


