अभिलाष गुप्ता
वीरगंज, २६ अषाढ । नेपाल युवा उद्यमी मञ्च (NYEF) वीरगंज च्याप्टरका अध्यक्ष चन्दन सिंहले म्याग्नस फार्माको कार्यालयमा पुगेर च्याप्टरको स्मारिका (Souvenir) प्रकाशनमा पूर्ण पृष्ठको विज्ञापनमार्फत सहयोग गरेकोमा कम्पनीप्रति आभार व्यक्त गरेका छन्।
अध्यक्ष सिंहले म्याग्नस फार्माको टोलीलाई औपचारिक रूपमा भेट्दै च्याप्टरको तर्फबाट प्रकाशित स्मारिका हस्तान्तरण गर्नुका साथै मायाको चिनो प्रदान गर्दै संस्थाले पुर्याएको महत्वपूर्ण योगदानको उच्च प्रशंसा गरेका थिए। उनले निजी क्षेत्रको यस्तो सहयोगले उद्यमशीलता प्रवर्द्धन, संस्थागत विकास तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए।
सो क्रममा म्याग्नस फार्माले प्रदान गरेको सहयोगले स्मारिका प्रकाशनलाई सफल बनाउन महत्वपूर्ण योगदान पुगेको उल्लेख गर्दै एनवाईईएफ वीरगञ्ज च्याप्टरले कम्पनीप्रति कृतज्ञता व्यक्त गरेको थियो।
दुवै पक्षले यो भेट केवल धन्यवाद आदानप्रदानमा सीमित नरही आपसी विश्वास, सहकार्य र साझा उद्देश्यमा आधारित दीर्घकालीन सम्बन्धको सुरुआत भएको विश्वास व्यक्त गरेका छन्। आगामी दिनमा उद्यमशीलता विकास, युवा सशक्तीकरण तथा समुदायको समग्र विकासका क्षेत्रमा संयुक्त रूपमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै सहकार्यलाई अझ सुदृढ बनाइने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
“Lead, Localize & Lift Nepal” भन्ने मूल नारालाई आत्मसात् गर्दै एनवाईईएफ वीरगञ्ज च्याप्टरले स्थानीय उद्यमीहरूलाई प्रोत्साहन, नवप्रवर्तनको प्रवर्द्धन तथा सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्याउने लक्ष्यका साथ निरन्तर क्रियाशील रहेको जनाएको छ।


