अभिलाष गुप्ता
काठमाडौं, ३२ अषाढ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को आयोजना तथा नेवाः पत्रकार राष्ट्रिय मञ्च र सार्क जर्नलिस्ट फोरमको सहकार्यमा तेस्रो अन्तर्राष्ट्रिय आदिवासी भाषा पत्रकारिता सम्मेलन–२०२६ आगामी अगस्ट ९ देखि १२ सम्म काठमाडौंमा आयोजना हुने भएको छ।
काठमाडौंको नयाँबजारमा सम्पन्न तयारी बैठकमा सम्मेलनको प्रारम्भिक कार्यक्रम तथा कार्ययोजना सार्वजनिक गरिएको हो। फोनिजका महासचिव समीर बलामी ले सम्मेलनको विस्तृत कार्ययोजना प्रस्तुत गर्दै तयारी तीव्र गतिमा अघि बढिरहेको जानकारी दिए।
आयोजकका अनुसार सम्मेलनमा विश्वका करिब ४० देश बाट आदिवासी भाषामा पत्रकारिता गर्ने पत्रकार, सञ्चारकर्मी, अनुसन्धानकर्ता तथा विज्ञहरूको सहभागिता रहनेछ। सम्मेलनमा आदिवासी भाषा पत्रकारिताको वर्तमान अवस्था, चुनौती, अवसर र भविष्यका रणनीतिबारे गहन छलफल हुनेछ।
चार दिनसम्म सञ्चालन हुने सम्मेलनमा प्यानल छलफल, कार्यपत्र प्रस्तुतीकरण, सांस्कृतिक झाँकी, शोभायात्रा, नेपालका ऐतिहासिक तथा पर्यटकीय स्थलको भ्रमण तथा परम्परागत नेपाली परिकारको प्रवर्द्धन लगायतका कार्यक्रम समावेश गरिएका छन्।
आयोजकका अनुसार सम्मेलनको मुख्य उद्देश्य आदिवासी भाषा पत्रकारिताको विकास र व्यवसायीकरण, मातृभाषामा आधारित पत्रकारिता लाई सरकारी नीतिमा समावेश गराउन पैरवी गर्नु तथा नेपालले यस क्षेत्रमा हासिल गरेका उपलब्धिलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्नु हो। साथै, आदिवासी भाषा, लिपि, संस्कृति, परम्परा र सम्पदाको संरक्षण, अध्ययन तथा अनुसन्धानलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।


