वीरगंज, ०२ साउन । पर्साको पटेर्वा सुगौली गाउँपालिका–स्थित टोल देउरियामा बसेको आदर्श कवारिया संघले विगत ३७ वर्षदेखि सनातन धर्म, संस्कृति तथा परम्पराको संरक्षण र प्रचार–प्रसारमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
वि.सं. २०४५ सालदेखि सञ्चालन हुँदै आएको संघले पटेर्वा सुगौली गाउँपालिकामा रहेको प्रसिद्ध धार्मिकस्थल भाथाधाम बाबा दूधेश्वरनाथ मन्दिरको धार्मिक महत्वलाई देशभर चिनाउने अभियानलाई विशेष प्राथमिकता दिँदै आएको जनाएको छ।
संघले प्रत्येक वर्ष श्रावण महिनामा बोलबम यात्रा आयोजना गर्दै भारत तथा नेपालका विभिन्न पवित्र नदीबाट जल ल्याएर भाथाधामस्थित बाबा दूधेश्वरनाथको मन्दिरमा जल अर्पण गर्दै आएको छ।
यसैक्रममा शनिबार टोल देउरियामा बसेको आदर्श कवारिया संघको बैठकले आगामी श्रावण २१ गते भारतको त्रिवेणी नदीबाट जल भरी करिब ५ दिनको बोलबम यात्रा गर्ने निर्णय गरेको छ। संघका अध्यक्ष राजेश्वर पञ्जियार थारुका अनुसार बोलबम यात्रामा सहभागी भक्तजनले साउन महिनाको दोस्रो सोमबार भाथाधामस्थित बाबा दूधेश्वरनाथको मन्दिरमा जल अर्पण गर्नेछन्।
भाथाधामलाई देशभर चिनाउन तथा यसको धार्मिक महत्वको प्रचार–प्रसार गर्न संघले निरन्तर काम गर्दै आएको संघका कोषाध्यक्ष शम्भु चौधरीले बताए। उनले सनातन धर्म, संस्कृति र परम्पराको संरक्षणसँगै भाथाधामको प्रचार–प्रसारलाई थप प्रभावकारी बनाउने उद्देश्यले संघ सक्रिय रहेको बताए।
आदर्श कवारिया संघमा पटेर्वा सुगौली गाउँपालिकासहित जिराभवानी र सखुवा प्रसौनी गाउँपालिकाका करिब ५०० जना सदस्य आबद्ध रहेको संघले जनाएको छ।
आजको बैठकमा संघका अध्यक्ष राजेश्वर पञ्जियार थारु, महासचिव बालेश्वर महतो चौधरी, सचिव प्रमोद चौधरी, कोषाध्यक्ष शम्भु चौधरी, सल्लाहकार रूपनारायण चौधरी तथा सदस्यहरू बमबहादुर, ब्याजनाथ महतो, विनोद चौधरी, किशोरी दासलगायत ५० जनाभन्दा बढी सदस्यको सहभागिता रहेको थियो। बैठकमा सामाजिक अभियन्ता तथा सञ्चारकर्मी कन्हैया पटेलको समेत सहभागिता रहेको थियो।
आदर्श कवारिया संघले आगामी दिनमा भाथाधामको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वलाई देशभर प्रचार–प्रसार गर्दै थप श्रद्धालु भक्तजनलाई भाथाधामसँग जोड्ने अभियानलाई निरन्तरता दिने जनाएको छ।


