दरभंगा, बिहार ०७ साउन । बिहार राज्य बज्जिका विकास परिषद्को ३१ औँ स्थापना दिवस समारोह दरभंगास्थित तारामण्डल सभागारमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा बज्जिका भाषाको संरक्षण, संवर्द्धन तथा अन्तर्राष्ट्रिय विस्तारका विषयमा व्यापक छलफल गरिएको थियो।
परिषद्का भीष्म पितामह देवेन्द्र राकेशको अध्यक्षतामा सम्पन्न कार्यक्रममा परिषद्का पूर्व महासचिव डा. ओंकार प्रसाद सिंहले सञ्चालन गर्नुभएको थियो। समारोहअन्तर्गत नयाँ पदाधिकारी चयन, “प्रगति पथमा बज्जिका” विषयक विचार गोष्ठी, कवि सम्मेलन तथा सम्मान कार्यक्रम आयोजना गरिएको थियो।
प्रथम सत्रमा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरिएको छ। जसअनुसार डा. ब्रह्मदेव प्रसाद कार्यी अध्यक्ष, डा. विद्या चौधरी तथा प्रा. हरिनारायण सिंह हरि उपाध्यक्ष, डा. ओंकार प्रसाद सिंह महासचिव, मनोज कुमार सिन्हा सचिव, अश्विनी कुमार आलोक साहित्य विभाग सचिव तथा अमित कुमार मण्डल कोषाध्यक्ष निर्वाचित हुनुभएको छ।
कार्यक्रमका मुख्य अतिथि ओमप्रकाश खेड़ियाले बज्जिका भाषालाई भारतीय संविधानको आठौँ अनुसूचीमा समावेश गर्न माग गर्नुभयो। प्रमुख वक्ता प्रा. हरिनारायण सिंह हरिले “प्रगति पथमा बज्जिका” शीर्षकको शोधपत्र प्रस्तुत गर्दै विद्यापति, रहमतुल्लालगायतका साहित्यकारहरूको योगदान र बज्जिका साहित्यको विकास यात्राबारे प्रकाश पार्नुभयो।
वरिष्ठ पत्रकार तथा मानवाधिकार टुडेका सम्पादक डा. शशि भूषण कुमारले लोकतन्त्रको पहिलो भूमि वैशालीको मातृभाषा बज्जिका र यसको समृद्ध सांस्कृतिक सम्पदालाई विश्वका १६० लोकतान्त्रिक देशसम्म पुर्याउने अभियान सञ्चालन गरिएको बताउनुभयो। उहाँका अनुसार हालसम्म सार्क राष्ट्रहरूका साथै थाइल्यान्ड र मौरिससलगायत विश्वका १० देशमा बज्जिका भाषा तथा संस्कृतिको प्रचार–प्रसार भइसकेको छ।
उहाँले नेपालका राजु लामा र निर्पेन्द्रलाल श्रेष्ठ, श्रीलंकाका राहुल समान्था, थाइल्यान्डका डा. पी.सी. चन्द्रा तथा मौरिससकी समाजसेवी डा. सरिता बुद्धूको सहयोगले अभियानलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्न मद्दत पुगेको उल्लेख गर्नुभयो।
चलचित्र अभिनेता अमिय कश्यपले क्षेत्रीय भाषाको संरक्षणमा चलचित्रको महत्वपूर्ण भूमिका रहने बताउँदै आगामी दिनमा बज्जिका भाषामा चलचित्र निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
डा. विद्या चौधरीले क्षेत्रीय भाषाहरू हिन्दी भाषाको आधारशिला भएको बताउँदै आगामी जनगणनामा मातृभाषाको रूपमा बज्जिका उल्लेख गर्न आग्रह गर्नुभयो। पद्मश्री राजकुमारी देवी ‘किसान चाची’ले घरपरिवारमै बज्जिका भाषाको प्रयोग बढाउनुपर्नेमा जोड दिनुभयो।
शिक्षाविद् राजाराम चौरसियाले मातृभाषा नै समाजको पहिचान र संस्कृतिको आधार भएको उल्लेख गर्दै नयाँ पुस्तालाई आफ्नो भाषा र संस्कृतिसँग जोड्नुपर्ने आवश्यकता औँल्याउनुभयो। पद्मश्री सीवन पासवान, हीरालाल सहनीलगायत वक्ताहरूले पनि बज्जिका भाषाको संरक्षण, संवर्द्धन तथा संवैधानिक मान्यताका लागि सामूहिक प्रयास आवश्यक रहेको धारणा राख्नुभयो।
यस अवसरमा डा. विशाल भारद्वाजद्वारा लिखित संक्षिप्त वाल्मीकि रामायण (कथासार) को डा. ब्रह्मदेव प्रसाद कार्यीद्वारा बज्जिका भाषामा अनुवाद गरिएको संस्करणको लोकार्पण समेत गरिएको थियो।
समारोह अन्तर्गत आयोजित कवि सम्मेलनमा इन्दिरा भारती, अमिताभ कुमार सिन्हा, नन्दकिशोर साहु, आशीष अकिञ्चन, डौली कुमारी, अमरजीत अमर, उदय शंकर चौधरी ‘नादान’, अतुल कुमार मिश्र, मुकेश झा, रितु प्रज्ञा, डा. मनीष कुमार, अशोक भगत, प्रकाशचन्द्र प्रभाकर र सुरभि लाल दासलगायतका कविहरूले आफ्ना रचनामार्फत मातृभाषा, संस्कृति र समाजका विविध पक्ष प्रस्तुत गरेका थिए।
कार्यक्रमको धन्यवाद ज्ञापन हंसराज साहले गर्नुभएको थियो। समारोहमा साहित्य, शिक्षा, पत्रकारिता, कला, संस्कृति तथा सामाजिक क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


