वीरगंज, २५ माघ । पर्साको बिन्दबासिनी गाउँपालिकामा विद्यालय स्तरीय खेलकुद २०८० प्रतियोगिता सम्पन्न भएको छ । ‘ स्वास्थ्यको लागि खेल ’ भन्ने नाराका साथ सुरु विद्यालय स्तरीय खेलकुद २०८० प्रतियोगिताको भव्य समारोहका बिच माध्यमिक विद्यालय झौवाँगुठीको चौरमा भएको प्रतियोगिता बुधबार सम्पन्न भएको छ ।
प्रमुख अथिति अध्यक्ष तिवारीले विद्यालय स्तरीय खेलकुद २०८० प्रतियोगितामा खेलाडीहरूको महान उत्सव भएको बताउनुभयो । खेलको माध्यमबाट देशलाई विश्व सामु चिनाउन सकिने भएकोले खेलाडी देशको लागि शान्तिदुत पनि भएको बताए । खेलको माध्यमबाट विश्वमा शान्ति ल्याउन सकिने भएकोले सहभागी टिमका खेलाडीलाई उनले प्रसँसा गरे । यस खेलकुदले नयाँ नयाँ प्रतिभा तयार गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
यस प्रतियोगिताले बिन्दबासिनी गाउँपालिकालाई खेल पर्यटनको गन्तव्यका रुपमा स्थापित गर्न योगदान गर्ने उहाँले बताउनुभयो । आत्मविश्वास र उच्च मनोबलका साथ खेलमा सहभागी बन्न आग्रह गर्दै उहाँले सबै खेलाडी विद्यार्थीहरुलाई सफलताको शुभकामना व्यक्त गर्नुभयो । खेल क्षेत्रलाई समयानुकुल रुपमा विकास गर्दै लैजानुपर्ने बताउँदै उहाँले विद्यमान समस्याहरूलाई समाधान गर्दै जानुपर्नेमा जोड दिनुभयो ।
१९ गते देखि शुरु भएको विद्यालय स्तरीय खेलकुद २०८० प्रतियोगिता गाउँपालिका अन्तर्गतका १४ वटा विद्यालयहरुले भाग लिएका खेल २४ गते सम्पन्न भएको गाउँपालिका शिक्षा शाखा प्रमुख कपिल लामिछानेले बताउनु भयो ।
बिन्दबासिनी गाउँपालिकाको सहयोग र शिक्षा शाखाको आयोजनामा सुरु भएको विद्यालय स्तरीय खेलकुद २०८० प्रतियोगितामा तीन किसिमका खेल भएको थियो । म्युजिकल सेयर खेलमा १४ वटा विद्यालय सहभागी थिए भने शोर्ट फुटमा ५ वटा विद्यालय र जेब्लिङ थ्रो ५ विद्यालय सहभागी भएका थिए ।
२४ गते सम्पन्न भएको खेलमा मावि तर्फको खेलमा श्री रा.रा.चौ. मावि प्रथम भएको थियो भने श्री रा.रा.चौ. दोश्रो र मसरुर आधारभूत विद्यालय तेश्रो भएको थियो । त्यस्तै प्रावि तर्फको खेलमा मसरुर आधारभूत विद्यालय प्रथम भएको थियो भने भगवती नेरा प्रावि दोश्रो र रा.रा.चौ मावि तेश्रो भएको थियो ।
विद्यालय प्रधानध्यापक रामचन्द्र महतोको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश ओझा, लेखा प्रमुख मिथलेश कुशवाहा, इलाका प्रहरी कार्यालय पोखरीया पर्साका प्रहरी निरीक्षक मोहन बिक्रम केसी, शसस्त्र प्रहरी बल अमरपट्टीका प्रहरी निरीक्षक सागर मल्ल, गाउँपालिका अन्तर्गत विद्यालयका प्रधानाध्यापक, शिक्षक, शिक्षिका, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम सहजीकरण प्रधानध्यापक मुक्लेश गद्दीले गर्नुभएका थिए ।