वीरगंज, ४ चैत । राष्ट्रिय भूमि आयोगले पर्सामा ६ हजार ८८९ जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको सूचीकृत गरेको छ ।
भूमि आयोग पर्साले आइतवार पत्रकार सम्मेलन गर्दै हालसम्मको कार्यप्रगतीका बारेमा जानकारी गराएको हो ।
जसअनुसार पर्साका विभिन्न स्थानीय तहमा गरी १३ सय ६३ जना भूमिहीन दलित, २५ सय ७७ जना भूमीहीन सुकुम्वासी र २९ सय ४९ जना अव्यवस्थित बसोबासी रहेका छन् ।
आयोगका पर्सा अध्यक्ष तबरेज अहमदका अनुुसार पर्सा जिल्लाको ठोरी गाउँपालिका, सखुवाप्रसौनी गाउँपालिका, पर्सागढी नगरपालिका, बहुदरमाइ नगरपालिका र वीरगंज महानगरपालिकामा बढी भूमीहीनको समस्या देखिएको छ ।
ठोरीमा भूमिहीन दलित २६ जना, भूमीहीम सुकुम्वासी १७ सय ४० जना र अव्यवस्थित बसोबासी १९ सय ६ जना सूचीकृत भएको अध्यक्ष अहमदले जानकारी दिए । यसैगरी पर्सागढीमा भूमिहीन दलितको संख्या ७ सय ७२, भूमीहीम सुकुम्वासी ३ सय ५७ र अव्यवस्थित बसोबासी ५ सय ५४ जना रहेका छन् ।
सबैभन्दा कम भूमीहीनको समस्या भने वीरगंज महानगरपालिकामा देखिएको छ । आयोगका पर्सा अध्यक्ष अहमदका अनुसार ५ वटा स्थानीय तह बाहेक अन्य ९ वटा स्थानीय तहमा लगत संकलनको काम भइरहेको छ ।
पर्सा जिल्लाबाट सूचीकृत भएका ६ हजार ८८९ जना मध्ये पहिलो चरणमा १५७ जनाले लालपुर्जा प्राप्त गर्ने भएका छन् ।राष्ट्रिय भूमि आयोग जिल्ला समिति पर्साले १५७ जना परिवारलाई जग्गाको लालपुर्जा वितरण गर्ने तयारी गरेको अध्यक्ष अहमदले बताए ।
उनकाअनुसार बैशाखमा लालपुर्जा वितरण गर्ने तयारी भइरहेको छ । पर्सागढी नगरपालिकामा १५७ जनालाई लालपुर्जा दिन लागिएको अहमदको भनाई छ ।