वीरगंज, १२ असार । काठमाडौंबाट वीरगंज आउँदै गरेको ट्रकबाट ठूलो परिमाणमा लागूऔषध चरेश फेला परेको छ भने पर्सा प्रहरीले चालकलाई पक्राउ गरेको छ। प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको ट्रकमा चरेश लोड गरी ल्याइएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी सिर्सियाबाट खटिएको संयुक्त टोलीले वीरगंज महानगरपालिका २१ स्थित परवानीपुर चोकको सडकखण्डमा ट्रक फेला पारेको हो । ट्रकका चालक मकवानपुरको थाहा नगरपालिका १२ निवासी ३६ वर्षीय बुद्धी बहादुर स्याङ्तानलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा ट्रकको पछाडि सामान बोक्ने भागमा सेतो प्लाष्टिकको बोराभित्र लुकाइएको अवस्थामा १३ वटा पोकामा रहेको तीन सय १९ किलो चरेश फेला परेको प्रहरीले जनाएको छ। चालक स्याङ्तानले लगाएको कपडाको खल्तीबाट एक लाख बयानब्बे हजार रुपियाँ नगदसमेत बरामद गरिएको छ । पक्राउ परेका चालकलाई लागूऔषध सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी गराएका छन् । उक्त ट्रकको सामान लोड गर्ने भागमा प्लाष्टिकको बोराभित्र पोका बनाएर राखिएको अवस्थामा ३ सय १९ केजी चरेस बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख तथा प्रहरी उपरीक्षक गौतम मिश्रले बताए । बरामद चरेसको बजार मूल्य करिब १ करोड रुपियाँँ रहेको अनुमान गरिएको उनले बताए । पक्राउ परेका ट्रक चालकले उक्त चरेस आफुले धादिङबाट ट्रकमा लोड गरेर ल्याएको र वीरगंजको ड्राइपोर्ट नाका हुदैं भारतमा पुर्याउने योजनामा रहेको प्रहरीलाई बयान दिएको प्रहरी उपरीक्षक मिश्रले जानकारी दिए । बिहीवार जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक मिश्रले चरेसको तस्करीमा संलग्न अन्य व्यक्तिहरूको वारेमा पनि अनुसन्धान गरिरहेको बताए । चरेस, गाँजा,अफिम लगायतका लागू औषध तस्करीको सञ्जाल तोड्ने गरी पर्सा प्रहरी अहिले लागिरहेको र त्यसैको नतिजा स्वरूप यति धेरै मात्रामा चरेस बरामद गर्न सफल भएको प्रहरी उपरीक्षक मिश्रले बताए ।
प्रतिक्रिया लेख्नुहोस् ।