वीरगंज, १३ असार । ट्याक्टर पल्टिएर दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । वीरगंज महानगरपालिका वडा नम्बर २८ बगहीमा शुक्रवार दिउँसो टयाक्टर पल्टिदा बगहीका पन्ना पटेलका छोरा अन्दाजी १७ वर्षका आकाश पटेल र राजेश पटेलका छोरा अन्दाजी १७ वर्षका गोलु पटेलको मृत्यु भएको छ भने वीरगंज–२८ इनर्वाका १९ वर्षका जयकुमार मण्डल घाइते भएका छन् । भेडाहा खोलाबाट माटो लिएर बगही जाँदै गरेको नम्बर प्लेट मेटिएको ट्याक्टर शुक्रवार दिउँसो २ बजेतिर अनिन्त्रित भई सडकबाट १५ फिट तल खसेर दुर्घटना भएको वडाध्यक्ष सुर्युग महतो धानुकले बताए । अनिन्त्रित भइ खसेको ट्याक्टरले च्यापिएर चालक आकाश र टयाक्टरमा सवार गोलुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक सुवाष भट्टले जानकारी दिए । घाइते जयकुमारको भने उपचार भइरहेको उनले बताए । मृतक दुवै किशोर शव मुचुल्का उठाएर पोष्टमार्टमका लागि वीरगंजको नारायणी अस्पताल पठाएको तथा घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस् ।