रौतहट, २५ साउन । वातावरणीय सन्तुलन कायम राख्ने र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले समृद्धिका लागि वन परियोजनाको समन्वयनमा दुर्गाभगवती गाउँपालिकाले सुरु गरेको “एक घर, एक बिरुवा” अभियानले गति लिइरहेको छ ।
एक विशेष कार्यक्रममा गाउँपालिका अध्यक्ष शम्भु कुमार सिंहले स्वयं स्थानीयवासीलाई फलफूलका बिरुवा निःशुल्क वितरण गरेका छन् । अभियानले पालिका क्षेत्रमा हरियाली बढाउन र जलवायु परिवर्तनका चुनौतीहरूलाई सामना गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । गाउँपालिकामा आयोजित बिरुवा वितरण कार्यक्रममा आँप, लिची, कागती, कटहर र बेलजस्ता लोकप्रिय फलफूलका बिरुवाहरू वितरण गरिएको थियो ।
गाउँपालिकाको सुचना अधिकारि सन्दिप दासका अनुसार अभियानअन्तर्गत लगभग पालिकाको पाँचै वटा वडाहरुमा बिरुवा वितरण गर्ने लक्ष्य राखिएको छ । “यो अभियानको सुरुवात भैसकेको छ, र हामीले सार्वजनिक स्थल, विद्यालय, धार्मिक स्थलहरू र इच्छुक घरधुरीहरूलाई बिरुवा उपलब्ध गराइरहेका छौँ,” दासले बताए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष सिंहले स्थानीयवासीलाई बिरुवा हस्तान्तरण गर्दै वृक्षारोपणको महत्वमाथि जोड दिए । “हरियालीले हाम्रो पालिकालाई स्वस्थ, सुन्दर र हरित बनाउँछ । प्रत्येक घरको आँगनमा एउटा बिरुवा रोप्न सकियो भने हामी वातावरणीय सन्तुलनमा ठूलो योगदान दिन सक्छौँ,” उनले भने, “भौतिक विकाससँगै हरित विकास पनि उत्तिकै आवश्यक छ । हामीले जलवायु परिवर्तन र पछिल्लो समय देखिएको पानी र खडेरीको सङ्कट समाधानका लागि वृक्षारोपणलाई प्राथमिकता दिनुपर्छ ।
गाउँपालिका अध्यक्ष सिंहले वृक्षारोपणले जलवायु परिवर्तनका प्रभावलाई न्यूनीकरण गर्न र पानीको सङ्कट समाधानमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । “बिरुवाहरूले भूमिमुनीको जल संरक्षणमा सहयोग गर्छन् र वातावरणलाई स्वच्छ राख्छन् । हामीले रोपेका बिरुवाहरूलाई राम्रोसँग संरक्षण र हुर्काउन सकेमा यसले दीर्घकालीन लाभ प्रदान गर्नेछ,” उनले थपे । उनले स्थानीयवासीलाई बिरुवाको हेरचाह र संरक्षणमा विशेष ध्यान दिन आग्रह गरे ।
स्थानीयवासीहरूले गाउँपालिका अध्यक्ष सिंहको यस्तो कार्यको खुलेर प्रशंसा गरेका छन् । “यो अभियानले हामीलाई आफ्नो घर(आँगनमा बिरुवा रोप्न प्रेरित गरेको छ। फलफूलका बिरुवाले हामीलाई ताजा फलफूल मात्र होइन, स्वच्छ हावा र छहारी पनि प्रदान गर्नेछ,” स्थानीय जितेन्द्र पाण्डेले भने । त्यस्तै अर्को स्थानीय अनुप लाल दासले गाउँपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्दै भने, “यस्तो अभियान निरन्तर चलिरहयो भन्ने, हाम्रो गाउँपालिका हरियालीले भरिनेछ ।”
गाउँपालिकाले अभियानलाई जनस्तरमा प्रभावकारी बनाउन विभिन्न वडाहरूमा बिरुवा वितरण कार्यक्रमलाई विस्तार गर्ने योजना बनाएको छ । साथै, विद्यालय, मठ(मन्दिर, सामुदायिक स्थल र पार्कहरूमा पनि बृहत् वृक्षारोपण अभियान सञ्चालन गरिने बताइएको छ । “हामीले अभियानलाई दीर्घकालीन बनाउने लक्ष्य राखेका छौँ । बिरुवा वितरणसँगै हामीले रोपेका बिरुवाहरूको संरक्षण र अनुगमन पनि गर्नेछौँ,” सूचना अधिकारि दासले जानकारी दिए।
साथै विरुवा रोप्न, हेरचाह गर्न र संरक्षण गरि विरुवा हुर्काउने प्राविधिक तरिकाहरु समृद्धिका लागि वन परियोजनाको कार्यक्रमहरुमा सहजीकरण गर्नु भएका वन प्राविधिक बिनिता पौडेलले विरुवा पाउने स्थानीय वासीहरुलाई जानकारी गराईन ।
दुर्गाभगवती गाउँपालिकाको “एक घर, एक बिरुवा” अभियानले पालिका क्षेत्रमा हरियाली प्रवर्द्धन, वातावरण संरक्षण र जलवायु परिवर्तनका चुनौतीहरू सामना गर्न महत्त्वपूर्ण पहल गरेको छ । स्थानीयवासीको उत्साह र पालिकाको सक्रियताले अभियानले दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ ।