अभिलाष गुप्ता
वीरगंज, ०८ असोज । घटस्थापनासँगै वीरगंजको ऐतिहासिक गहवामाई मेला सुरु भएको छ। मेलाको पहिलो दिनदेखि नै घण्टाघर चौकदेखि महाबीर स्थान सम्मका सडक पेटीमा विशेषगरी जेरीको बिक्रीमा उल्लेख्य वृद्धि देखिएको छ।मेलामा बिक्री भईरहेका खाद्य सामग्रीको गुणस्तर सुनिश्चित गर्न जिल्ला प्रशासन कार्यालय पर्सा र सरोकारवालाहरुको संयुक्त टोलीले बुधबार दिउँसो २२ वटा मिठाई पसलको अनुगमन गरेको हो।
अनुगमन टोलीमा खाद्य निरीक्षण अधिकारी सोनु साह, उपभोक्ता हित संरक्षण मञ्च पर्साका उपाध्यक्ष अजित भुजेल, वीरगंज महानगरपालिकाका प्रतिनिधि विभा मिश्र र वीरगंज उद्योग वाणिज्य संघका प्रतिनिधि मनोज कुमार दास सहभागी थिए।
जाँचका क्रममा ७ वटा पसलमा प्रयोग गरिएको तेल गुणस्तरहीन पाइएको छ भने ५ वटा पसलमा प्रयोग भएको फुड कलर मापदण्डअनुसार नभएको भेटिएको छ।उपाध्यक्ष अजित भुजेलका अनुसार, गुणस्तरहीन तेल र फुड कलर प्रयोग गरेका पसलका सामग्री तत्काल नष्ट गराइ पसल सञ्चालकलाई चेतावनी दिइएको छ।
खाद्य निरीक्षण अधिकारी सोनु साहले भने “मेलामा बिक्री भईरहेका खाद्य पदार्थहरू खान योग्य छन् कि छैनन् भनेर जाँच गरिएको हो। दशैंलाई लक्षित गरी गरिएको यो विशेष अनुगमन दशैंभर निरन्तर जारी रहनेछ।”जिल्ला प्रशासन कार्यालयले उपभोक्तालाई सुरक्षित र गुणस्तरीय खाना उपलब्ध गराउन अनुगमनलाई थप कडा बनाइने जनाएको छ।